नयाँ पुस्तक ‘एग्रिकल्चर सेक्टर ट्रान्सफर्मेसन इन नेपाल’ सार्वजनिक

नयाँ पुस्तक ‘एग्रिकल्चर सेक्टर ट्रान्सफर्मेसन इन नेपाल’ सार्वजनिक

काठमाडौं : नेपालको कृषि क्षेत्रले भोगिरहेका दीर्घकालीन समस्याहरूको समाधान खोज्दै ‘एग्रिकल्चर सेक्टर ट्रान्सफर्मेसन इन नेपाल’ नामक पुस्तक सार्वजनिक भएको छ।

विश्वप्रसिद्ध प्रकाशन गृह ‘स्प्रिङ्गर नेचर’द्वारा प्रकाशित यो पुस्तकले नेपालको कृषिमा अब सतही सुधारले नपुग्ने र पूर्ण संरचनागत रूपान्तरण आवश्यक रहेको निष्कर्ष निकालेको छ।

पुस्तकका सम्पादकहरू डा. दिनेश पाण्डे, डा. विष्णुराज उप्रेती, डा. प्रभात खनाल र डा. जगदीश तिम्सिनाका अनुसार, परम्परागत शासनशैली, कमजोर नीति कार्यान्वयन, राजनीतिक अस्थिरता र जलवायु परिवर्तन जस्ता कारणले नेपालको कृषि क्षेत्र संकटमा छ।

देशको करिब ६५ प्रतिशत जनसंख्या कृषिमा निर्भर भए पनि राष्ट्रिय आयमा यसको योगदान २४ प्रतिशतभन्दा कम हुनुले यो संकटलाई स्पष्ट पार्ने उनीहरूको धारणा छ।

पुस्तकले कृषिमा आमूल परिवर्तनका लागि बलियो राजनीतिक प्रतिबद्धता, नयाँ संस्थागत ढाँचा र सुशासन अपरिहार्य रहेको सन्देश दिएको छ।

‘अब सतही सुधारले पुग्दैन, हामीलाई पूर्ण कृषि रूपान्तरण चाहिन्छ,’ सम्पादक डा. दिनेश पाण्डे भन्छन्, ‘कृषि केवल खाना उत्पादन मात्र होइन, यो ग्रामीण अर्थतन्त्र र दीगो भविष्यको मेरुदण्ड हो।’

पुस्तकले भारत र चीनबीचको भू-राजनीतिक अवस्थालाई ध्यानमा राखी कृषि स्वाधीनता सुनिश्चित गर्न सन्तुलित नीति अपनाउन पनि सुझाव दिएको छ।

६१ जना लेखक तथा दर्जनौं विज्ञहरूको १८ महिना लामो अध्ययन र सहकार्यबाट तयार भएको यस पुस्तकमा २४ अध्यायहरू छन्। यसले कृषि नीति, सुशासन, शिक्षा, अनुसन्धान, उत्पादन प्रणाली र बजार सुधारजस्ता विषयलाई वैज्ञानिक प्रमाणका आधारमा विश्लेषण गरेको छ।

पुस्तकले सरकारलाई तत्काल विज्ञ, निजी क्षेत्र र किसान प्रतिनिधि सम्मिलित एक उच्चस्तरीय ‘कृषि पुनर्संरचना समिति’ गठन गर्न सिफारिस गरेको छ। साथै, महिला र युवालाई कृषि उद्यमशीलतामा आकर्षित गर्न विशेष कार्यक्रम आवश्यक रहेकोमा जोड दिएको छ।

नीति निर्माता, अनुसन्धानकर्तादेखि किसानसम्मका लागि उपयोगी यो पुस्तक अंग्रेजी भाषामा प्रकाशित भए पनि यसका सारांश अध्यायहरू निःशुल्क डाउनलोड गर्न सकिने र केही अध्यायलाई नेपालीमा अनुवाद गर्ने काम भइरहेको सम्पादकहरूले जनाएका छन्।

असोज २३, २०८२ बिहीबार ०९:२६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।