गाजामा युद्धविराम र बन्धक रिहाइ सम्झौताको घोषणा, संयुक्त राष्ट्रसंघद्वारा स्वागत

न्युयोर्क : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासबीच गाजा शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर भएको घोषणा गरेका छन्। उक्त घोषणासँगै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा युद्धविराम र बन्धक रिहाइका लागि भएको सम्झौताको स्वागत गरेका छन्।
सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै महासचिव गुटेरेसले सम्झौता कार्यान्वयनमा संयुक्त राष्ट्रसंघले पूर्ण सहयोग गर्ने बताएका छन्।
उनले लेखेका छन्, ‘यो सम्झौतालाई सम्भव बनाउने अमेरिका, कतार, इजिप्ट र टर्कीको कूटनीतिक प्रयासको म सराहना गर्दछु। म सबै सम्बन्धित पक्षहरूलाई सम्झौताका शर्तहरूको पूर्ण पालना गर्न अपिल गर्दछु।’
गुटेरेसले गाजामा तत्काल मानवीय सहायता पुर्याउनुपर्नेमा जोड दिँदै थपे, ‘सबै बन्धकहरूलाई सम्मानजनक तरिकाले रिहा गरिनुपर्छ। स्थायी युद्धविराम सुनिश्चित हुनुपर्छ र लडाइँ सधैंका लागि अन्त्य गरिनुपर्छ।’
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै इजरायल र हमास दुवैले अमेरिकाको गाजा शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको घोषणा गरेका थिए।
उनका अनुसार, सम्झौताअनुसार सबै बन्धकहरूलाई छिट्टै रिहा गरिनेछ र इजरायलले आफ्ना सेनालाई तोकिएको सीमासम्म फिर्ता बोलाउनेछ। ट्रम्पले यसलाई एक बलियो, स्थिर र स्थायी शान्तिको दिशामा पहिलो कदम भएको बताएका छन्।
ट्रम्पले लेखेका छन्, ‘यो अरब र मुस्लिम विश्व, इजरायल र उसका सबै छिमेकी देशहरूका साथै अमेरिकाका लागि एक महत्त्वपूर्ण र ऐतिहासिक दिन हो। सबै पक्षसँग निष्पक्ष व्यवहार गरिनेछ।’
उनले यस मामिलामा मध्यस्थताका लागि कतार, इजिप्ट र टर्कीलाई धन्यवाद दिएका छन्।
असोज २३, २०८२ बिहीबार ०८:५८:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।