कुवेतविरुद्धको जितमा नेपालको ब्याटिङ ‘कोल्याप्स’ : कठिन पिचमा कुशलले धाने, गुल्सनले उडाए

काठमाडौं : नेपालले आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटमा कुवेतमाथि प्रभावशाली जित निकाल्दै प्रतियोगितामा विजयी शुरूवात गर्यो। कुशल भुर्तेल र गुल्सन झा नायक बन्दा अन्य खेलाडीको ब्याटिङ ‘कोल्याप्स’ भयो।
कुशल र गुल्सनबाहेक अन्य खेलाडीको ब्याटिङ हेर्ने भने ‘वाह!’ भन्न लायक प्रदर्शन रहेन। ओपनर आशिफ शेख आकिफ फारुकको एलबिडब्लुमा फसे भने कप्तान रोहित पौडेल र बायाँ हाते ब्याटर कुशल मल्ल नवीराज राजेन्द्रनको योर्करको सिकार बने। उनीहरूले क्रमश: २, १६ र ४ रन जोडे।
पाचौं नम्बरमा ब्याटिङमा आएका सन्दीप जोरा पनि मोहम्मत अस्लमको बलमा अगाडि बढेर खेल्न खोज्दा स्टम्पिङ भए। अलराउन्डर दीपेन्द्रसिंह ऐरीले भुर्तेलसँग केही समय पार्टनरसीप गरे पनि त्यो लामो समय जान सकेन। उनी १९ बलमा १० रन बनाउँदा उस्मान पटेलबाट रनआउट हुन पुगे।
त्यसपछि आए गुल्सन झा। पहिलो बलमा दुई रन लिएका उनले दोस्रो बल डट खेले। त्यसपछि १९औं ओभरको पछिल्लो तीन बलमा उनले तीन छक्का हिर्काएर टोलीलाई सम्मानजक स्कोरमा पुर्याए। तर, २०औं ओभरको दोस्रो बलमा उनी अनुदीप चेन्थामाराबाट बोल्ड हुन पुगे। यद्यपि उनले ६ बलमा २० रनको योगदानले टोली डिफेन्ड गर्न लायक स्कोरमा पुग्यो।
खेलपछि कुवेतविरुद्धको खेलमा नायक बनेका कुशल भुर्तेल र गुल्सन झाले कठिन परिस्थितिमा पनि आफ्नो योजनाअनुसार खेल्दा सफलता मिलेको बताए। ‘प्लेयर अफ द म्याच’ बनेका कुशल भुर्तेलले अन्तिमसम्म टिकेर खेल्ने आफ्नो लक्ष्य रहेको बताए भने विस्फोटक ब्याटिङ गरेका गुल्सन झाले आफ्नो भूमिकामा स्पष्ट भएर क्रिजमा गएको प्रतिक्रिया दिए।
ओमानमा बुधबार भएको खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गर्दै प्रतियोगितामा शानदार शुरूवात गरेको छ। अर्धशतकीय पारी खेल्दै जितको आधार तयार पारेका कुशलले पिच सोचेभन्दा फरक र कठिन रहेको बताए।
‘वार्मअप म्याच पनि यही विकेटमा खेलेकाले सुरुमा गाह्रो लागेको थिएन, तर पहिलो बल फेस गर्दा बाउन्स नै भएन। त्यसपछि थाहा भयो कि यो पिचमा खेल्न गाह्रो छ,¦ खेलपछि कुशलले भने।
शुरूवातमा विकेट गुमाएपछि आफ्नो जिम्मेवारी बढेको बताउँदै उनले भने, ‘हाम्रो शुरूवात राम्रो भएन, विकेट गयो। मेरो जिम्मेवारी पूरै २० ओभर खेल्ने थियो। यस्तो विकेटमा एक जना सेट ब्याट्सम्यान भयो भने रन बन्छ भन्ने थाहा थियो।’
उनले अन्तिम ओभरतिर विस्फोटक ब्याटिङ गरेका गुल्सन झाको प्रदर्शनले खेलको लय परिवर्तन गरेको बताए। ‘सबै श्रेय गुल्सनलाई जान्छ, जसरी उसले आएर ५ बलमा २० रन बनायो, त्यसले खेलको मोमेन्टम हाम्रो पक्षमा ल्याइदियो’, कुशलले भने।
इनिङ्सको अन्त्यतिर क्रिजमा आएर ६ बलमा ३ छक्कासहित २० रन जोडेका गुल्सनले आफू स्पष्ट मानसिकताका साथ मैदान प्रवेश गरेको बताए। ‘म एकदमै स्पष्ट थिएँ। टोलीलाई रन चाहिएको थियो र हामी १४० रनको लक्ष्य बनाउन खोजिरहेका थियौं,’ गुल्सनले भने, ‘देशका लागि जति गर्न सकिन्छ, त्यति गर्न पाउँदा खुसी छु।’
यता, पराजित टोली कुवेतका कप्तान मोहम्मद अस्लामले भने नेपालको ब्याटिङको १९औं ओभर नै खेलको 'टर्निङ प्वाइन्ट' बनेको स्वीकारे। ‘वास्तवमा, १८ औं ओभरसम्म खेल हाम्रो हातमा थियो। तर दुर्भाग्यवश, १९ औं ओभरमा हामीले २७ रन खर्च गर्यौं, जसले गर्दा खेलको सम्पूर्ण लय हाम्रो हातबाट गुम्यो’, उनले भने।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। ओपनर कुशल भुर्तेलले एकातर्फबाट विकेट जोगाउँदै ५६ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ६६ रनको योगदान दिए। उनको यही पारीले नेपाललाई सम्मानजनक स्कोरसम्म पुर्याएको थियो।
१४२ रनको लक्ष्य पछ्याएको कुवेत नेपाली बलरसामु निरीह देखियो र १८.१ ओभरमा ८३ रनमै अलआउट भयो। नेपालका लागि सन्दीप लामिछाने, ललितनारायण राजवंशी र कप्तान रोहित पौडेलले समान २-२ विकेट लिए भने सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलले एक-एक विकेट लिए।
यो जितले प्रतियोगितामा राम्रो शुरूवात मिलेको र यसलाई निरन्तरता दिने गुल्सनले बताए। ‘पक्कै पनि अब विश्वकप खेल्न १० वर्ष लगाउने छैनौँ’, उनले भने।
नेपालले आफ्नो दोस्रो खेल शुक्रबार जापानविरुद्ध खेल्नेछ।
असोज २३, २०८२ बिहीबार ०७:४६:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।