एउटै ओभरले खेल हार्यौं, १९औं ओभर टर्निङ प्वाइन्ट बन्यो : कप्तान अस्लाम

काठमाडौं : आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत नेपालसँगको खेलमा एकै ओभरमा महँगो साबित हुँदा खेल हार्न पुगेको कुवेतका कप्तान मोहम्मद अस्लामले बताएका छन्।
बुधबार ओमानमा भएको खेलमा ५८ रनको फराकिलो हार बेहोरेपछि अस्लामले नेपालको ब्याटिङको १९औं ओभर नै खेलको टर्निङ प्वाइन्ट भएको स्वीकारे।
खेलपछि हाम्रो खेलकुदसँग कुरा गर्दै कप्तान अस्लामले १८ ओभरसम्म खेल आफ्नो नियन्त्रणमा रहेको तर एउटै ओभरले खेलको मोमेन्टम नेपालतर्फ गएको बताए।
‘वास्तवमा, १८ औं ओभरसम्म खेल हाम्रो हातमा थियो। तर दुर्भाग्यवश, १९ औं ओभरमा हामीले २७ रन खर्च गर्यौं, जसले गर्दा खेलको सम्पूर्ण लय हाम्रो हातबाट गुम्यो’, उनले भने।
अस्लामले टी-२० क्रिकेटमा एउटा खराब ओभरले नै खेलको नतिजा बदल्न सक्ने बताउँदै नेपालविरुद्धको खेलमा त्यही १९ औं ओभर निर्णायक बनेको स्पष्ट पारे।
‘टी-२० मा एउटा खराब ओभरले खेल परिवर्तन गर्छ भनिन्छ, हाम्रो लागि त्यो १९ औं ओभर नै थियो’, उनले थपे।
पिच ब्याटिङका लागि केही कठिन रहेको स्वीकार्दै उनले पावरप्लेमा आफ्नो टोलीले राम्रो ब्याटिङ गर्न नसक्दा लक्ष्य पछ्याउन नसकेको बताए।
‘यो नयाँ र केही कठिन विकेट थियो। ब्याटिङ गर्न सहज थिएन,’ उनले भने, ‘हाम्रो ब्याटिङको पावरप्लेमा हामीले लय गुमायौँ, जसले गर्दा आवश्यक रनरेट बढ्दै गयो र हामी दबाबमा आयौँ।’
यसअघि खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले कुशल भुर्तेलको ६६ रन तथा अन्तिममा गुल्सन झाको विस्फोटक ब्याटिङको मद्दतमा ७ विकेट गुमाएर १४१ रन बनाएको थियो।
गुल्सनले १९औं ओभरमा ६ बलमा ३ छक्कासहित २० रन जोडेका थिए, जसले नेपाललाई सम्मानजनक स्कोरसम्म पुर्याएको थियो। जवाफमा १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा ८३ रनमै अलआउट भएको थियो।
हारका बाबजुद टोलीमा सकारात्मक पक्षहरू रहेको बताउँदै अस्लामले अर्को खेलमा बलियो पुनरागमन गर्ने विश्वास व्यक्त गरे।
‘हामीले १८ ओभरसम्म नेपाललाई दबाबमा राखेका थियौँ। हाम्रो बलिङ र फिल्डिङ राम्रो थियो। यी सकारात्मक पक्षहरू लिएर हामी जापानविरुद्धको खेलमा सशक्त रूपमा फर्कनेछौँ’, उनले भने।
नेपालले आफ्नो दोस्रो खेल शुक्रबार जापानविरुद्ध खेल्नेछ।
असोज २३, २०८२ बिहीबार ०७:१५:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।