देशका अधिकांश भू-भागमा मौसम सफा, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौं : आज बिहीबार देशका अधिकांश भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
यद्यपि, कोशी प्रदेश लगायत पहाडी क्षेत्रहरूमा आंशिक बदली भई एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान जारी गरेको बुलेटिन अनुसार, दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ भने देशका अन्य स्थानमा मौसम सफा रहने पूर्वानुमान छ।
रातिको समयमा पनि यी तीन प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले उल्लेख गरेको छ।
महाशाखाका अनुसार हाल देशमा दुई फरक मौसमी प्रणालीको प्रभाव देखिएको छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भू-भाग तथा गण्डकी प्रदेशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव रहेको छ।
बाँकी भू-भागमा भने मनसुनी र स्थानीय वायुको कमजोर प्रभाव रहेकाले मौसममा मिश्रित अवस्था देखिएको हो। यही दुई प्रणालीको प्रभावका कारण केही स्थानमा बदली र वर्षाको सम्भावना हुँदा अधिकांश स्थानमा आकाश खुल्ने देखिएको छ।
असोज २३, २०८२ बिहीबार ०७:०६:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।