आइसिसी टी-२० विश्वकपको एसिया तथा इएपी छनोट प्रतियोगितामा नेपालको शानदार सुरुवात

काठमाडौं : नेपालले आइसिसी टी–२० विश्वकपको एसिया तथा इएपी छनोट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। बुधवार ओमानमा सुरु भएको छनोटको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गर्दै समूह चरणको प्रभावशाली यात्रा सुरु गरेको हो।
नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दा नेपाल विरुद्ध जितका लागि १ सय ४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा ८३ रनमै समेटियो। कुवेतका ओपनर क्लिन्टो एन्टोले २६ र यासिन पटेलले जोडेको १९ रन नै सबैभन्दा ठूलो रन बन्यो।
नेपालका सोमपाल कामीले पहिलो ओभरकै चौथो बलमा ओपनर रविजा सान्दारुवानलाई बोल्ड गर्दै सुरुवात शानदार बनाएका थिए। त्यसपछि नन्दन यादवको बलमा उस्मान पटेल शून्यमा बोल्ड भए। ललित नारायण राजवंशीले मित भावसारलाई ११ रनमा क्याच गराएर नेपाललाई थप सफलता दिलाएका थिए।
नेपालका सन्दीप लामिछानेले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए। ललित राजवंशी र कप्तान रोहित पौडेलले पनि समान २–२ विकेट लिए भने सोमपाल, नन्दन र कुशल भुर्तेलले एक–एक विकेट लिएका थिए।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४१ रन जोडेको थियो। नेपालका ओपनर कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै ५६ बलमा ३ चौका र ३ छक्कासहित ६६ रन बनाए। अन्तिम तिर गुल्शन झाले ६ बलमा लगातार ३ छक्का प्रहार गर्दै २० रनको विस्फोटक योगदान दिए।
अन्य ब्याटरमध्ये कप्तान रोहित पौडेलले १६, दीपेन्द्र सिंह ऐरीले २० रन बनाए भने आसिफ शेख २, सन्दीप जोरा ५ र कुशल मल्ल ४ रनमा आउट भए। कुवेतका नविनराज राजेन्द्रनले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए। मोहम्मद अस्लाम, अनुपदीप र मोहम्मद फारुकले समान एक–एक विकेट लिए।नेपालले अब दोस्रो खेल शुक्रवार जापानविरुद्ध खेल्नेछ।
असोज २३, २०८२ बिहीबार ०१:११:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।