असोज १७ पछिको विपद्मा परेर मृत्यु हुनेको संख्या ५३ पुग्यो

असोज १७ पछिको विपद्मा परेर मृत्यु हुनेको संख्या ५३ पुग्यो

काठमाडौं : यही असोज १७ गतेपछिको मनसुनी विपद्मा परी ५३ जनको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजसम्ममा मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको जानकारी दिएको छ। 

प्राधिकरणकी प्रवक्ता शान्ति महतले पहिरोमा परेर ४० जना, बाढीबाट ११ जना र चट्याङबाट दुई जनाको मृत्यु भएको जानकारी दिए। उनका अनुसार पहिरोबाट इलाममा मात्रै ३८ जनाको मृत्यु भएको छ । यस्तै, पाँचथरमा एक र काभ्रेमा एक जनाले पहिरोबाट ज्यान गुमाएका छन्। 

यस्तै बाढीबाट मृत्यु हुने ११ जनामध्ये उदयपुरमा दुई, धनुषामा दुई, तथा इलामा, पाँचथर, खोटाङ भोजपुर, मोरङ, सुनसरी र रौतहटमा एकरएक जनाा रहेका प्राधिकरणले जनाएको छ। प्रवक्ता महतले बाढीबाट रसुवामा चार र इलाममा एक गरी पाँच जना बेपत्ता भएका पनि जानकारी दिए।

यस्तै, मनसुनी विपद्मा परेर सो तीन दिनको अन्तरालमा ४७ जना घाइते भएका छन् । घाइतेमध्ये पहिरोमा परेर ३३ र चट्याङबाट १४ जना रहेका प्राधिकरणले आज सार्वजनिक गरेको अध्यावधिक मनसुनी घटना विवरणमा उल्लेख छ । 

प्राधिकरणले अस्थायी आवास, पुनःस्थापन र राहत प्रक्रियाकाबारेमा छलफल सुरु भइसकेको जानकारी दिएको छ । उक्त मनसुनी विपद्मा ५० जिल्ला प्रभावित भएको थियो । यसपाली यही असोज १८ गते दिउँसो र रातिको समयमा मुसलधारे वर्षा हुँदा ठूलो क्षति पुर्याएको थियो । अहिले भने मनसुन बाहिरिन सुरु भइसकेको छ।

असोज २२, २०८२ बुधबार २१:४५:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।