बक्स अफिस रिपोर्ट : ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’लाई लगानी उठाउनै मुस्किल

काठमाडौंः अहिले तीन नेपाली फिल्म ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ हलमा प्रदर्शन भइरहेका छन्। दसैंको फूलपाती अर्थात् असोज १३ गतेदेखि प्रदर्शनमा आएका यी तीन फिल्मको असोज २० गते राति ११ बजेर ५५ मिनेटसम्मको बक्स अफिस रिपोर्ट कलाकारको ‘स्टारडम’ जस्तो बलियो देखिएको छैन।
चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्ट अनुसार ‘बलिदान’ले असोज २० गते रातिसम्म ३ करोड ७५ लाख ५३ हजार २५१ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। निर्माण पक्षका अनुसार फिल्मले लगानी उठाउन धौधौ भइरहेको छ। ‘बलिदान’ले लगानी सुरक्षित गर्नका लागि अझै ९ करोडभन्दा माथिको व्यापार गर्नुपर्ने हुन्छ, नत्र कलाकारको लोकप्रियता र प्रचार भए पनि निर्माताले लगानी फिर्ता गर्न गाह्रो पर्ने देखिन्छ।
सोही दिनदेखि प्रदर्शनमा आएको अर्को फिल्म ‘हरिबहादुरको जुत्ता’ले हालसम्म ३ करोड २१ लाख ७० हजार १६० रुपैयाँ ग्रस कलेक्सन गरेको छ। फिल्मको लगानी डेढ करोड रुपैयाँ रहेको र त्यस अनुसार लगानी उठिसकेको बताइएको छ। तर लगानी २ करोडभन्दा माथि भए अझ केही दिन समय लाग्ने देखिन्छ।
त्यस्तै, चलचित्र विकास बोर्डका अनुसार ‘माइतीघर’ले हालसम्म २ करोड १३ लाख ६४ हजार ६९२ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। निर्माण पक्षले यसको लगानी सार्वजनिक गरेको छैन। तर महँगा कलाकार भएको फिल्म भएकाले ३ करोड हाराहारी लगानी अनुमान गरिएको छ। सो हिसाबले ‘माइतीघर’ले अझै ४ करोडभन्दा माथिको व्यापार गर्नुपर्ने देखिन्छ।
‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ टिमले अहिलेसम्म आधिकारिक कमाई सार्वजनिक गरेका छैनन्। तर ‘बलिदान’ टिमले भने आफ्नो फिल्मले पहिलो हप्तामै ५ करोड रुपैयाँभन्दा बढी व्यापार गरेको दाबी गरेको छ। हल भिजिटमा रहेका वितरक गोविन्द शाहीले भने, “पहिलो हप्तामै हाम्रो व्यापार ५ करोडभन्दा माथि पुगेको छ। अहिले दोस्रो हप्तामा त झन् बढी हाउसफुल चलिरहेको छ।”
तर चलचित्र विकास बोर्डको रिपोर्ट अनुसार ‘बलिदान’को आधिकारिक कलेक्सन शाहीले दाबी गरेको भन्दा झन्डै २ करोड कम छ।
गत वर्षको बडादसैंमा प्रदर्शन भएका फिल्महरूको तुलनामा यो वर्षको बक्स अफिस प्रदर्शन कमजोर देखिएको छ। गत वर्ष ‘१२ गाउँ’ले १९ करोड ९२ लाख र ‘छक्कापञ्जा–५’ ले १५ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो। सोही समयमा प्रदर्शनमा आएको ‘ज्वाई साब’ले ३ करोड हाराहारी कलेक्सन गरेको थियो। ती फिल्महरूले लगानी सुरक्षित गरेका थिए, तर यस वर्षका तीनै फिल्मले लगानी फिर्ता हुने सम्भावना कमजोर देखिन्छ।
त्यसैगरी, यी फिल्मसँगै प्रदर्शनमा आएको विदेशी फिल्म ‘कान्तारा च्याप्टर १’ले समेत ३ करोड ६२ लाख ४५ हजार ६५९ रुपैयाँ ग्रस कलेक्सन गरेको चलचित्र विकास बोर्डले जनाएको छ।
चलचित्र विकास वोर्डद्वारा स्वीकृत भई वार्षिक अद्यावधिक समेत भएको चलचित्र घरका पर्दाहरुको यो रिपोर्ट हो। बोर्डले यसवाहेक कुनै स्थानमा चलचित्र प्रदर्शन भएको पाइएमा नियमानुसार सम्बन्धितहरूलाई कारवाही हुने व्यहोरा जानकारी गराएको छ।
कुन फिल्ममा को–को छन् कलाकार?
फिल्म ‘बलिदान’मा ५० लाखभन्दा बढी पारिश्रमिकको चर्चा चलेका अभिनेता समीर भट्ट प्रमुख भूमिकामा छन्। गत वर्ष आफ्नो होम प्रोडक्सनमा बनेको फिल्म ‘१२ गाउँ’बाटै चर्चा र कमाई कमाएपछि उनको पारिश्रमिक ५० लाखभन्दा माथि पुगेको बताइएको थियो। केही दिनअघि उनको पारिश्रमिक डेढ करोड पुगेको हल्ला समेत चलेको थियो।
समिरसँगै यो फिल्ममा सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा र हेमन्त बुढाथोकीले अभिनय गरेका छन्। एक्सन जनराको यो फिल्मको निर्माण लागत ६ करोड रुपैयाँभन्दा माथि रहेको निर्माण पक्षले जनाएको छ। फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेन हुन्।
यता, फिल्म ‘माइतीघर’मा केदार घिमिरे (माग्ने बुढा) पनि महँगा कलाकारका रूपमा रहेका छन्। उनको पारिश्रमिकको चर्चा समय–समयमा हुने गरेको छ। उनीसँगै उपासना सिंह ठकुरी, धीरज मगर र प्रकाश सपुतले मुख्य भूमिका निभाएका छन्। रोहित अधिकारी निर्माता रहेको यस फिल्मलाई मिलन तामाङले निर्देशन गरेका हुन् भने लगानी रविन शेरचन र धीरज तामाङको छ। ईश्वर श्रेष्ठ र नीरज कटुवाल फिल्मका कार्यकारी निर्माता हुन्। निर्माण पक्षले लागत सार्वजनिक नगरे पनि फिल्मको लागत २ करोड रुपैयाँभन्दा माथि रहेको बताइएको छ। त्यसैले यो फिल्मले पनि लगानी सुरक्षित गर्न मेहनत गर्नुपर्ने देखिन्छ।
त्यसैगरी, दीपेन्द्र कुमार खनालको निर्देशनमा बनेको फिल्म ‘हरिबहादुरको जुत्ता’मा पनि बलिया कलाकारहरू रहेका छन्। फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत र प्रियंका कार्की मुख्य भूमिकामा छन्। अन्य कलाकारमा हरिहर शर्मा, दिव्य देव, किरण केसी र राजाराम पौडेल रहेका छन्।
फिल्मलाई सरोज वली र मोहितवंश आचार्यले निर्माण गरेका हुन्। निर्माण पक्षले लगानी रकम सार्वजनिक नगरे पनि कलाकारहरूको उपस्थिति हेर्दा लगानी फिर्ता गर्न यस फिल्मका निर्माताहरूलाई पनि हम्मे पर्ने देखिन्छ।
असोज २२, २०८२ बुधबार २०:२७:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।