हसिनाको शासनकालका दुई दर्जन सैन्य अधिकारीविरुद्ध पक्राउ पुर्जी जारी

हसिनाको शासनकालका दुई दर्जन सैन्य अधिकारीविरुद्ध पक्राउ पुर्जी जारी

ढाका : बङ्गलादेशको एक अदालतले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको शासनकालमा नागरिकहरू बेपत्ता पार्ने घटनामा संलग्न ठहरिएका करिब दुई दर्जन सैन्य अधिकारीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। अभियोजनकर्ताहरूका अनुसार पक्राउ पुर्जीमा कम्तीमा १६ जना जनरलसहित पूर्व र सेवारत अधिकारीहरू छन्।

हसिनाको अवामी लिग सत्तामा रहेको १५ वर्षको अवधिमा सुरक्षा निकायद्वारा २५० भन्दा बढी नागरिक जबर्जस्ती बेपत्ता पारिएको तथ्य अनुसन्धान आयोगले पुष्टि गरेको छ। आयोगले हालसम्म करिब एक हजार ७०० उजुरी दर्ता गरेको बताएको छ।

गत अगस्टमा विद्यार्थीको नेतृत्वमा भएको जनविद्रोहपछि ७७ वर्षीया हसिना हेलिकोप्टरमार्फत भारत पुगेकी थिइन्। त्यसपछि बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आइसिटी) मा जबर्जस्ती बेपत्ता पार्ने मुद्दामा उनलाई सह–अभियुक्तका रूपमा नामसमेत समावेश गरिएको छ।

आइसिटीले हसिनाको अपदस्थ सरकार र अब प्रतिबन्धित अवामी लिगसँग सम्बन्धित वरिष्ठ नेताहरूविरुद्ध मुद्दा चलाइरहेको छ।

आइसिटीका प्रमुख अभियोजक मोहम्मद ताजुल इस्लामले भने, “न्यायिक प्रक्रियाले अपराधीहरूको हैसियत वा शक्तिलाई विचार गर्दैन। जसले जनताको विश्वासको अपमान गरे, संविधान र कानुनको विरुद्ध उभिए, उनीहरू अब जवाफदेही बन्नेछन्।”

अभियोजनकर्ताहरूले हाल दुई जबर्जस्ती बेपत्ता पार्ने घटनासम्बन्धी आरोपपत्र बुझाएका छन्। मानवअधिकार समूहहरूको अनुमान अनुसार यस्ता मुद्दाको सङ्ख्या ७०० भन्दा बढी हुन सक्नेछ। ती घटनामध्ये धेरैलाई आतङ्कवाद विरोधी अभियानको नाममा पश्चिमी देशहरूको सहयोगमा अन्जाम दिइएको बताइन्छ, जसलाई हसिनाले आफ्नो सरकारको वैधानिकता बलियो बनाउन प्रयोग गरेको आरोप लगाइएको छ।

असोज २२, २०८२ बुधबार २०:०८:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।