प्रहरीचौकीमा ढुङ्गामुढा गर्ने वडाध्यक्ष पक्राउ

प्रहरीचौकीमा ढुङ्गामुढा गर्ने वडाध्यक्ष पक्राउ

सर्लाही : सर्लाही प्रहरीले गोडैता नगरपालिकाका वडाध्यक्ष छोटेलाल भनिने विनेशकुमार दासलाई पक्राउ गरेको छ। उनीमाथि प्रहरीचौकीमा ढुङ्गामुढा र बाँसको फराठा प्रहार गरेको आरोप छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार वडाध्यक्ष दासको नेतृत्वमा रहेको समूहले गत असोज १७ गते दुर्गा पूजाको चन्दाको विवादलाई लिएर गोडैता प्रहरीचौकीमा आक्रमण गरेको थियो। घटनामा चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक अवधेशप्रसाद यादव गम्भीर घाइते भएका थिए र उनका दुई दाँत भाँचिएका छन्। अन्य पाँच प्रहरी पनि घाइते भएका थिए।

प्रहरीका अनुसार यस घटनामा दासविरुद्ध कुटपिट, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव मुद्दामा जाहेरी दर्ता गरिएको थियो। जिल्ला अदालतबाट जारी पक्राउ पुर्जी अनुसार दासलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। पक्राउ परेका दासको अनुसन्धान तीन दिनको म्याद थपेर अघि बढाइएको छ।

यसैबीच, वडाध्यक्षको पक्राउको विरोधमा स्थानीय व्यापारीहरूले गोडैता बजार आज दिउँसोदेखि बन्द गरेका छन्।

असोज २२, २०८२ बुधबार १९:४७:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।