संवादबाट समस्याको समाधान खोज्न सरकारको आह्वान

संवादबाट समस्याको समाधान खोज्न सरकारको आह्वान

काठमाडौं : सरकारले मुलुकमा शान्ति सुव्यवस्था र अमनचयन कायम राख्दै निर्वाचनलाई सफल बनाउन आमनागरिकसँग अपिल गरेको छ। गृह मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना आवाज शान्तिपूर्वक राख्न र विरोधका कार्यक्रमलाई शान्तिपूर्ण बनाउन अनुरोध गरेको हो।
 
नागरिकको चासो, सरोकार र मागलाई गम्भीरतापूर्वक वार्ता एवं छलफलमार्फत समाधान गर्न सरकार सधैँ सकारात्मक रहेको उल्लेख गर्दै मन्त्रालयले धर्ना जुलुसलगायतका कार्यक्रम गर्नुअगावै वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गर्ने खोज्न अनुरोध गरेको छ।
 
नयाँ सरकारको गठनसँगै स्थिति नियन्त्रणमा लिई शान्तिसुरक्षाको अवस्था सामान्य बनाउन र आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको वातावरण तयार गर्नेतर्फ सरकार क्रियाशील रहेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

देशमा शान्तिसुरक्षा बहाली गर्दै घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरोकारवाला तथा आमनागरिककोसमेत दायित्व भएको मन्त्रालयले स्पष्ट पारेको छ।

असोज २२, २०८२ बुधबार १९:११:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।