देशका विभिन्न राजमार्ग र सडक खण्डमा अझै यातायात अवरुद्ध

काठमाडौं : देशभर हालैको भारी वर्षा र भू–भागीय जोखिमका कारण अवरुद्ध मुख्य राजमार्ग तथा सडक खण्ड अझै खुल्न सकेका छैनन्। रसुवा, सङ्खुवासभा, काभ्रे र रुकुम (पूर्व)का विभिन्न क्षेत्रमा सडक अवरुद्ध हुँदा दशैंमा उपत्यका बाहिरिएका यात्रुहरूले उपयुक्त समयमा फर्किन समस्या भएको छ।
सडक विभागका प्रवक्ता प्रभातकुमार झाले अवरुद्ध सडकखण्डको मर्मतकार्यलाई प्राथमिकता दिइ भइरहेको र सकेसम्म चाँडो यातायात सहज बनाइने बताएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वारले अवरुद्ध सडकका कारण यात्रुहरूले सास्ती भोग्नु परेको बताए।
पूर्ण रूपमा अवरुद्ध सडकहरूमा मुख्यत: रसुवाको गोसाइँकुण्ड–२, बालुवाखानी–तातोपानी, फ्याङलुङ क्षेत्रमा भोटेकोसी खोलाले कटान गरेको सडक, सङ्खुवासभाको खाँदबारी–थुमसुर, मकालु–किमाथाङ्का, काभ्रेको बिपी राजमार्ग माम्तीखोला–डालाबँसी–बुलढुङ्गा, र रुकुम (पूर्व)को काँडाबगरस्थित मध्यपहाडी लोकमार्ग पर्दछन्।
सडक विभागका अनुसार हाल १७४ राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेका छन्। अवरुद्ध खण्डमा मर्मतकार्य तीव्र गतिमा भइरहेको र मनसुन सकिएसँगै यातायात पूर्ण रूपमा खुल्ने अपेक्षा गरिएको छ।
असोज २२, २०८२ बुधबार १८:५१:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।