नौबस्ता बाल सुधारगृहबाट भागेका मध्ये ४५ जना बालबन्दी अझै फरार

नेपालगञ्ज : बाँकेको बैजनाथ गाउँपालिका–७ नौबस्तास्थित बाल सुधारगृहबाट भदौ २४ गते राति भागेका ७८ जना बालबन्दीमध्ये अझै ४५ जना फरार छन्। हालसम्म ३३ जनालाई मात्रै पक्राउ गर्न सफल भएको सुधारगृहका प्रमुख श्यामबहादुर रानाले जानकारी दिए।
उनका अनुसार सम्पर्कमा आएका २९ जनामध्ये तीन जना चितवन र एक जना काभ्रेबाट पक्राउ परेका छन्। फरार बालबन्दीहरूलाई पक्राउ गर्न अभिभावकसँगको सहकार्यमा प्रहरी, प्रशासन र स्थानीय तह सबै संयन्त्र परिचालित भएको उनले बताए।
“केही अभिभावकले आफ्ना सन्तान सम्पर्कमा आएको बताउँछन्, तर प्रत्यक्ष सम्पर्कमा आएको देखिँदैन,” प्रमुख रानाले भने। फरार बालबन्दीहरू १७ देखि २५ वर्ष उमेर समूहका छन्। अहिले नौबस्ता बाल सुधारगृहमा १२२ जना बालबन्दी रहेका छन्।
भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएपछि ती ७८ जना बालबन्दी फरार भएका थिए। त्यसपछि प्रहरीले नेपाल–भारत सीमाक्षेत्रदेखि पहाडी जिल्लासम्म निगरानी कडा पारेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार दसैँ नजिकिँदै जाँदा फरार बालबन्दीहरू घर फर्कने सम्भावना भएकाले उनीहरूको स्थायी ठेगानामा पनि प्रहरी परिचालित गरिएको छ।
बाल सुधारगृहले फरार बालबन्दीलाई यही असोज २० गतेसम्म स्वेच्छाले फर्किन समय दिएको थियो, तर समयसीमा सकिँदासम्म कोही पनि नफर्किएको जनाएको छ। अब कारागार ऐनअनुसार उनीहरूमाथि कानुनी कारबाही गरिने सुधारगृहले जनाएको छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीका अनुसार फरार बालबन्दी र थुनुवाको खोजीका लागि सहायक प्रमुख जिल्ला अधिकारी पूर्ण खत्रीको नेतृत्वमा विशेष कार्यदल गठन गरिएको छ।
उहाँले स्थानीय तह र सुरक्षासंस्थाहरूसँग पत्राचार गरेर खोजी अभियान तीव्र बनाइएको बताए। “आजै पनि एक जना सम्पर्कमा आएका छन्, उनी कञ्चनपुरबाट फर्किंदै छन्,” प्रमुख जोशीले भने।
असोज २२, २०८२ बुधबार १६:११:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।