नेपाल र जर्मनीबीच ऊर्जा, स्वास्थ्य र समावेशी विकासका लागि दुई सम्झौतामा हस्ताक्षर

नेपाल र जर्मनीबीच ऊर्जा, स्वास्थ्य र समावेशी विकासका लागि दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं : नेपाल सरकार र सङ्घीय गणतन्त्र जर्मनीबीच वित्तीय तथा प्राविधिक सहयोगसम्बन्धी दुई महत्त्वपूर्ण सम्झौतामा आज हस्ताक्षर भएको छ। सम्झौता अर्थ मन्त्रालयमा भएको हो ।

नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माले र जर्मन सरकारको तर्फबाट काठमाडौँस्थित जर्मन राजदूत उडो भोल्जले सम्झौतामा हस्ताक्षर गरे। यी सम्झौताले नेपालको ऊर्जा, स्वास्थ्य, कृषि, शासन र समावेशी विकासजस्ता प्राथमिक क्षेत्रहरूलाई सुदृढ पार्ने लक्ष्य लिएको मन्त्रालयले जनाएको छ।

वित्तीय सहयोग सम्झौताअन्तर्गत जर्मन सरकारले ‘पावर डिस्ट्रीब्युसन स्ट्रेन्थेनिङ प्रोग्राम’का लागि २० मिलियन युरो (करिब तीन अर्ब रुपैयाँ) सम्मको सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। यो परियोजना नेपालको विद्युत् वितरण प्रणालीको स्तरोन्नति र सुदृढीकरणमा केन्द्रित हुनेछ।

परियोजना नेपाल विद्युत् प्राधिकरणमार्फत कार्यान्वयन गरिनेछ। यसका लागि नेपाल विद्युत् प्राधिकरण र जर्मन विकास बैंकबीच छुट्टै कार्यान्वयन सम्झौता हुनेछ। सम्झौताअनुसार परियोजना सन् २०२९ सेप्टेम्बर ५ भित्र सम्पन्न गर्नुपर्नेछ ।

त्यस्तै, प्राविधिक सहयोग सम्झौता सन् १९७४ को दीर्घकालीन ढाँचा सम्झौता र सन् २००९ मा संशोधित सम्झौता अनुरूप अद्यावधिक गरिएको हो । यसअन्तर्गत जर्मन सरकारले २१ मिलियन युरो बराबरको सहयोगका साथ विभिन्न क्षेत्रलाई प्रवर्द्धन गर्नेछ।

परियोजनाले स्वास्थ्य क्षेत्रमा गुणस्तरीय पूर्वाधार विस्तार, लैङ्गिक समानता र सामाजिक समावेशीताको राष्ट्रिय रणनीतिलाई बलियो बनाउन सहयोग गर्नेछ। साथै, कृषि, निजी क्षेत्रको विकास, र जलवायु–प्रतिकारशील आर्थिक वृद्धि प्रवर्द्धनमा समेत योगदान पुर्याउने लक्ष्य लिएको छ ।

प्राविधिक सहयोगमार्फत अध्ययन, अनुसन्धान, सल्लाहकार सेवा र विज्ञ कोष सञ्चालन गरी विशेषज्ञ सहयोग पनि उपलब्ध गराइनेछ । यो सम्झौता पनि सन् २०२९ सेप्टेम्बर ५ भित्र कार्यान्वयन सम्पन्न गर्ने उद्देश्य राखिएको छ ।

कार्यक्रममा सहसचिव शर्माले जर्मन सरकारको दीर्घकालीन समर्थनप्रति धन्यवाद व्यक्त गर्दै दुई देशबीचको साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गरे। त्यसैगरी, राजदूत उडो भोल्जले यो नयाँ प्रतिबद्धताले ऊर्जा, स्वास्थ्य र दिगो आर्थिक विकासका क्षेत्रमा नेपाल र जर्मनीबीचको सहकार्यलाई अझ गहिरो बनाएको बताए।

असोज २२, २०८२ बुधबार १५:४१:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।