मुख्य पर्यटकीय याममै अन्नपूर्ण क्षेत्रमा पर्यटकको सङ्ख्या घट्यो

मुख्य पर्यटकीय याममै अन्नपूर्ण क्षेत्रमा पर्यटकको सङ्ख्या घट्यो
पुनहिलमा बुधबार बिहान देखिएको स्वदेशी तथा विदेशी पर्यटक

गण्डकी : मुख्य पर्यटकीय सिजनको सुरुवातसँगै विदेशी पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको अन्नपूर्ण क्षेत्रमा यस वर्ष उल्टै कमी देखिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र परियोजनाका अनुसार गत सेप्टेम्बर महिनामा १९ हजार ३८६ विदेशी पर्यटक आएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा तीन हजार सात सय दुईले कम हो।

सेप्टेम्बर र अक्टोबरलाई अन्नपूर्ण क्षेत्रको ‘मौसम’ मानिन्छ। तर यसपटक ‘जेनजी’ प्रदर्शन, प्रतिकूल मौसम र यात्राको अनिश्चितताले पर्यटक आगमन घटाएको बताइएको छ।

परियोजनाका प्रमुख डा. रवीन कडरियाका अनुसार सेप्टेम्बरमा एसियाली मुलुकबाट आठ हजार ५४२ र अन्य देशबाट १० हजार ८४४ पर्यटक आएका थिए। “जेनजी प्रदर्शनका कारण कतिपय विदेशीले यात्रा रद्द गरे”, उनले भने, “मुक्तिनाथलगायतका क्षेत्रका भारतीय पर्यटक पनि घटेका छन्।”

डा. कडरियाले अन्नपूर्ण क्षेत्रका सबै गन्तव्य शान्त र सुरक्षित रहेको बताउँदै ढुक्क भएर घुम्न आग्रह गरे। उनका अनुसार अहिले नेपाली चाडपर्वका कारण आन्तरिक पर्यटकको लागि पनि घुमफिरका लागि उत्कृष्ट समय हो।

“नेपाल सुरक्षित पर्यटन गन्तव्य हो भन्ने सन्देश विश्वभर पु-याउन सरकारले पहल गर्नुपर्छ,” डा. कडरियाले भने, “त्यो भए पर्यटक आगमन फेरि लयमा फर्किन सक्छ।”

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिल टिकट कक्षका अमृत पुनका अनुसार बुधबार मात्रै करिब २०० विदेशी पर्यटक घोरपानी–पुनहिल क्षेत्रमा पुगेका छन्। “अघिल्ला वर्षमा यो समयमा दिनमा ४०० सम्म विदेशी आउँथे, अहिले आधा मात्र आएका छन्,” उनले भने, “आन्तरिक पर्यटक पनि घटेका छन्।”

घोरपानीका होटल व्यवसायी डमबहादुर पुनका अनुसार उनीहरूको होटलमा आउन लागेका २७ समूहले बुकिङ नै रद्द गरेका छन्।

करिब सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडाहरू पर्छन्। प्राकृतिक सुन्दरतादेखि जैविक विविधता, हिमाली जीवनशैली र सांस्कृतिक विशेषताका कारण अन्नपूर्ण क्षेत्र लामो समयदेखि आन्तरिक र बाह्य पर्यटकको मनपर्ने गन्तव्य रहँदै आएको छ।

असोज २२, २०८२ बुधबार १५:१६:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।