साइबर ब्युरोमा महेश बस्नेतको डेढ घण्टा बयान

काठमाडौं : साइबर ब्युरोका प्रहरीले साइबर क्राइमको जाहेरीमा एमाले नेता महेश बस्नेतसँग डेढ घण्टा बयान लिएको छ। प्रहरीले प्रारम्भमा बस्नेतविरुद्धको जाहेरीलाई तामेलीमा राख्ने प्रयास गरेको थियो। तर जिल्ला सरकारी वकिलको कार्यालयले पुन अनुसन्धान गर्न भनेपछि पक्राउ गरेर बयान गराउन खोजे पनि अदालतले थप प्रमाण खोजेपछि कार्यालयमा उपस्थित गराएर लिखित बयान गराएको हो।
बुधवार बस्नेत भोटाहिटीमा रहेको साइबर ब्युरोको कार्यालयमा आफैँ उपस्थित भएर लिखित बयान दिएका थिए। बयान दिन उनलाई करिब डेढ घण्टा लागेको थियो।
शोभा पाठकले दिएको जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले महेशले फेसबुकमा भालु भनेर कुन प्रसङ्गमा लेखेको हो सो खुलाउन, महेश बस्नेत फ्यान पेज कसले सञ्चालन गरेको हो त्यसबारे अनुसन्धान गर्न ब्युरोलाई लिखित निर्देशन दिएको थियो।
असोज २२, २०८२ बुधबार १५:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।