सडक सम्पर्कविच्छेद भएपछि बीपी राजमार्गमा कष्टकर यात्रा

काभ्रेपलाञ्चोक : असोज १८ र १९ गतेको लगातार वर्षासँगै रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको ठूलो भाग बगाएपछि सडक पूर्णरूपमा अवरुद्ध बनेको छ। सडक बगेपछि यात्रुहरू पैदलै हिँड्न बाध्य भएका छन्।
काभ्रेको रोशी क्षेत्रमा बाढीपहिरोले राजमार्गका भागहरू नष्ट भएपछि यातायात ठप्प छ। तीन दिनदेखि यात्रुहरूले खोलाको किनार, भिरपाखा र गोरेटो बाटो हुँदै निकै जोखिमपूर्ण यात्रा गर्नुपरेको छ। राजमार्गको भकुन्डे–नेपालथोक खण्डमा धेरै ठाउँमा सडक भासिएर सम्पर्क विच्छेद भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ।
दसैँ मनाउन घर फर्किएकाहरूको अवस्था झनै कष्टकर बनेको छ। चौकीडाँडा हुँदै डाँडापारि, नमोबुद्ध, तेमाल, महाभारत, खानीखोला, सुनकोशी र घ्याङलेक गाउँपालिकातर्फ हिँडेका यात्रुहरू घण्टौँ पैदल यात्रामा छन्। धुलिखेलदेखि चौकीडाँडासम्म भने सवारीसाधन चलिरहेको छ।
भिमखोरीका राजेन्द्र श्रेष्ठका अनुसार “सडकको नामोनिशान नभएको ठाउँमा हातगोडा टेकेर भिर चढ्दै चौकीडाँडा आइपुग्नु परेको” छ। उनले भने, “बुढाबुढी र साना बच्चालाई त झन् निकै दुःख भैरहेको छ। केही ठाउँमा गोरेटो बाटो बनाउन सके राहत मिल्थ्यो।”
स्थानीय प्रहरीका अनुसार तीन दिनभित्र करिब दुई हजार यात्रु बाध्य भएर पैदलै हिँडेका छन्। बिरामीहरूलाई सुरक्षाकर्मीहरूले स्ट्रेचरमा राखेर चौकीडाँडासम्म पु-याइरहेका छन्।
राजमार्गको चौकीडाँडा–नेपालथोक करिब २० किलोमिटर सडक पूर्ण रूपमा बन्द छ। बाढीपहिरोले १७ ठाउँमा गम्भीर क्षति पुर्याएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ। मङ्गलबारदेखि रोशी खोलाको बहाव घटेपछि डाइभर्सन निर्माण सुरु गरिएको छ।
डिभिजन सडक कार्यालयका इञ्जिनियर बिन्दु अधिकारीका अनुसार “खोलाको किनारैकिनार डाइभर्सन बनाउनुपर्ने र सडकको अवशेष नै नरहेकाले खोलाको बहावभन्दा माथिल्लो सतहमा नयाँ बाटो बनाइरहेको” जानकारी दिए।
सिन्धुलीपट्टि पनि नेपालथोकबाट दुई वटा स्काभेटर प्रयोग गरेर डाइभर्सन निर्माण सुरु गरिएको छ। प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार डिभिजन सडक कार्यालय खाल्टेले अस्थायी बाटो बनाउन तीव्र गति दिएको छ।
गत वर्षको असोज महिनामै बाढीले सोही क्षेत्रमा सडक बगाएको थियो । त्यसपछि बनाइएको अस्थायी डाइभर्सन यसपालिको वर्षाले पुनः बगाएपछि राजमार्ग फेरि ठप्प बनेको हो।
पूर्वी नेपाल जोड्ने छोटो र मुख्य मार्गका रूपमा रहेको बिपी राजमार्गमा दैनिक हजारौँ सवारीसाधन चल्ने गर्छन्। हाल सडक पूर्णरूपमा बन्द हुँदा यात्रा निकै जोखिमपूर्ण र कठिन बनेको छ।
असोज २२, २०८२ बुधबार १४:५३:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।