इक्वेडरका राष्ट्रपतिमाथि आक्रमण, सवारीको क्रममा भीडले हान्यो ढुङ्गा र गोली

एजेन्सी : इक्वेडरका राष्ट्रपति ड्यानियल नोबोआमाथि बुधबार ५०० भन्दा बढी प्रदर्शनकारीहरूले ज्यान मार्ने उद्देश्यले आक्रमण गरेका छन्।
देशको क्यानार प्रान्तमा भएको उक्त घटनामा उनको गाडीको लस्करमाथि ढुङ्गा प्रहार गरिएको थियो भने गाडीमा गोलीसमेत चलाइएको थियो। आक्रमणको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।
अधिकारीहरूका अनुसार, राष्ट्रपतिको कारमा गोलीका डोबहरू देखिए पनि राष्ट्रपति नोबोआ भने पूर्ण रूपमा सुरक्षित छन्।
घटनापछि पाँच जनालाई हिरासतमा लिइएको ऊर्जा तथा वातावरण मन्त्री इनेस मन्जानोले जानकारी दिए। उनले भने, ‘राष्ट्रपतिको कारमा गोली चलाउनु र ढुङ्गा हान्नु अपराध हो। हामी यसलाई कुनै हालतमा सहन गर्ने छैनौँ।’
राष्ट्रपति कार्यालयले पक्राउ परेका सबै संदिग्धमाथि आतंकवाद र हत्या प्रयासको मुद्दा चलाउने घोषणा गरेको छ।
किन भइरहेको छ प्रदर्शन?
इक्वेडरमा हाल इन्धन (डिजेल) मा दिइँदै आएको अनुदान कटौती गर्ने सरकारको निर्णयविरुद्ध देशव्यापी प्रदर्शन भइरहेको छ। राष्ट्रपति नोबोआले गत सेप्टेम्बरमा डिजेल अनुदान हटाउने आदेश जारी गरेका थिए।
यो कदमले वार्षिक करिब १.१ अर्ब डलर बचत हुने सरकारी तर्क छ, जसलाई साना किसान र यातायातकर्मीहरूलाई क्षतिपूर्ति दिन प्रयोग गरिनेछ। तर, आदिवासी संगठनहरू र साना किसानहरूले यसको चर्को विरोध गरेका छन्।
उनीहरूले डिजेल महँगो हुँदा खेतीको लागत र यातायात भाडा बढ्ने अनि यसको सबैभन्दा ठूलो मार गरिब र ग्रामीण समुदायमाथि पर्ने बताएका छन्।
सरकारद्वारा संकटकालको घोषणा
अनुदान कटौतीको विरोधमा शुरू भएको हिंसात्मक प्रदर्शन नियन्त्रण गर्न सरकारले देशका विभिन्न क्षेत्रमा संकटकाल लगाएको छ। इक्वेडरको राष्ट्रिय आदिवासी महासंघले प्रहरी दमनलाई ‘क्रूर’ भन्दै पाँच प्रदर्शनकारीलाई स्वेच्छाचारी ढंगले पक्राउ गरिएको आरोप लगाएको छ।
आक्रमणको केही घण्टापछि राष्ट्रपति नोबोआले कुएन्का शहरमा विद्यार्थीहरूलाई सम्बोधन गरे। उनले यस्ता आक्रमणहरू सैह्य नहुने भन्दै कानुन सबैका लागि बराबर लागू हुने बताए।
रक्षामन्त्री गियान कार्लो लोफ्रेडोले राष्ट्रपति नोबोआ क्षतिग्रस्त कारको छेउमा उभिएको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘कुनै पनि कुराले हाम्रा राष्ट्रपतिलाई रोक्न सक्दैन र यो संकेत हो कि देश पनि कहिल्यै रोकिने छैन।’
असोज २२, २०८२ बुधबार १४:१५:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।