विश्वास र अनुभव नै हाम्रो शक्ति हो, विश्वकपमा फेरि छनोट हुन आतुर छौँ : कुशल भुर्तेल

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार ओपनर तथा अलराउन्डर कुशल भुर्तेलले टी२० विश्वकप छनोट प्रतियोगिताका लागि टोली तयार रहेको बताएका छन्।
नेपाल क्रिकेट संघको युट्युब च्यानलमा दिएको अन्तर्वार्तामा उनले हालै वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक शृंखला जितेपछि टोलीमा नयाँ ऊर्जा थपिएको र हरेक खेलाडीमा एकअर्काप्रति गहिरो विश्वास रहेको बताए।
‘दुई पटकको विश्व च्याम्पियन वेस्ट इन्डिजजस्तो टोलीलाई हराउनु हामी सबैका लागि गर्वको क्षण थियो,’ भुर्तेलले भने, ‘त्यो ऐतिहासिक जितले हामीलाई एउटा छुट्टै आत्मविश्वास दिएको छ। हामी त्यो लयलाई विश्वकप छनोटमा पनि निरन्तरता दिन चाहन्छौँ।’
वेस्ट इन्डिजविरुद्धको सफलताको पछाडि टिमको आपसी विश्वास र उत्कृष्ट तयारी प्रमुख कारण रहेको भुर्तेलले बताए।
‘हाम्रो सफलताको सबैभन्दा ठूलो कुरा एकअर्काप्रतिको विश्वास हो,’ उनले भने, ‘त्यससँगै हाम्रो तयारी पनि निकै राम्रो थियो। अष्ट्रेलिया भ्रमणदेखि अभ्यास खेलसम्म, हामीले कडा मेहनत गरेका छौँ।’
उनले क्रिकेटमा कुनै पनि टोलीलाई कमजोर आँक्न नहुने र हरेक खेललाई गम्भीरताका साथ लिने मानसिकतामा टोली रहेको स्पष्ट पारे।
‘क्रिकेटमा वरीयताले मात्र सबै कुरा निर्धारण गर्दैन। त्यो दिन कसले राम्रो खेल्छ भन्ने महत्त्वपूर्ण हुन्छ’, उनले थपे।
चाडपर्वको समयमा घरपरिवारबाट टाढा रहेर देशका लागि खेल्दा परिवारको सम्झना आउनु स्वाभाविक भए पनि समर्थकहरूको माया र टोलीको साथले त्यो अभावलाई शक्तिमा बदल्ने गरेको उनले बताए।
‘दशैंमा घरबाहिर रहँदा पक्कै पनि परिवारलाई सम्झिन्छौं। तर, मेरो सबैभन्दा ठूलो प्रेरणा नै मेरो परिवार हो,’ उनले थपे, ‘उहाँहरूको सपना पूरा गर्न र देशलाई खुशी दिनु नै हाम्रो लक्ष्य हो। त्यसैगरी, विश्वभर छरिएर रहनुभएका नेपाली समर्थकले देखाउनुहुने माया र समर्थन गजबको छ। उहाँहरूको खुशी नै हाम्रो लागि सबैभन्दा ठूलो ऊर्जा हो।’
नेपालले तेस्रो पटक विश्वकप खेल्ने सपना साकार पार्न टोली पूर्ण रूपमा तयार र दृढ रहेको भुर्तेलले बताए।
‘हामी धेरै आत्मविश्वासी छौं। पछिल्लो दुई वर्षदेखि यही टोलीले सँगै खेल्दै आएको छ, जसले गर्दा अनुभव र आपसी समझदारी उत्कृष्ट छ,’ उनले भने, ‘यो १०-१० वर्षको अन्तरमा होइन, हामी लगातार विश्वकप खेल्न चाहन्छौं र त्यसका लागि हामी तयार छौं।’
उनले आफूमाथि ओपनरको रूपमा दबाब भए पनि त्यसलाई अवसरको रूपमा लिने र टोलीलाई उत्कृष्ट सुरुवात दिलाउन सधैँ प्रयासरत रहने बताए।
असोज २२, २०८२ बुधबार १३:४१:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।