शतक प्रहारपछि मैदानमै भड्किए पृथ्वी शा, विपक्षी टिमका बलरलाई ब्याटले हान्न खोजे

एजेन्सी : भारतको प्रतिष्ठित घरेलु क्रिकेट प्रतियोगिता, रणजी ट्रफीको नयाँ सिजन शुरू हुनुअघि नै युवा ब्याट्सम्यान पृथ्वी शा पुनः एकपटक विवादमा तानिएका छन्।
पुणेमा आफ्नो पुरानो टिम मुम्बईविरुद्ध महाराष्ट्रबाट खेल्दै उनले उत्कृष्ट शतक प्रहार गरे, तर त्यसलगत्तै मैदानमा मुम्बईका खेलाडीसँग उनको चर्काचर्की भयो।
यो घटना पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसनको स्टेडियममा मुम्बई र महाराष्ट्रबीच चलिरहेको तीनदिने अभ्यास खेलका क्रममा भएको हो।
खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको महाराष्ट्रका लागि ओपनिङ गर्न आएका पृथ्वी शाले २२० बलमा २१ चौका र ३ छक्कासहित १८१ रनको शानदार पारी खेले।
उनका ओपनिङ पार्टनर अर्शिन कुलकर्णीले पनि १४० बलमा ३३ चौका र ४ छक्काको मद्दतले १८६ रन बनाए। दुईबीच पहिलो विकेटका लागि ३०५ रनको विशाल साझेदारी भएको थियो।
७४औं ओभरमा शा मुम्बईका स्पिनर मुशीर खानको बलमा क्याच आउट भएर पेभिलियन फर्कंदै गर्दा विवाद शुरू भएको हो।
मिडिया रिपोर्टका अनुसार, शा आउट भएपछि मुशीरले ‘धन्यवाद’ भनेर उनको मजाक उडाए। यसबाट आक्रोशित शा मुशीरतिर ब्याट लिएर जाइलाग्न खोजेको र उनको कलर समात्ने प्रयास गरेको बताइएको छ।
तर, मुशीर अगाडि बढिसकेकाले उनलाई ब्याटले लागेन। तत्कालै अम्पायर र अन्य खेलाडीहरूले बीचमा आएर शालाई रोकेका थिए।
विवाद यतिमै रोकिएन। ड्रेसिङ रुमतर्फ फर्कने क्रममा उनको मुम्बईका अर्का खेलाडी सिद्धेश लाडसँग पनि बहस भएको थियो, जसमा पुनः अम्पायरले हस्तक्षेप गर्नुपरेको थियो।
महाराष्ट्रका कप्तान अंकित बावनेले भने घटनालाई सामान्य रूपमा लिएका छन्।
उनले भने, ‘यो एउटा अभ्यास खेल हो। सबै खेलाडी पहिले सँगै खेलिसकेका छन्। यस्ता कुराहरू कहिलेकाहीँ भइहाल्छन्। अहिले सबै ठीक छ र कुनै विवाद बाँकी छैन।’
यद्यपि, घटनापछि मुम्बई क्रिकेट एसोसिएसन वा महाराष्ट्र क्रिकेट एसोसिएसन कुनै पनि पक्षबाट आधिकारिक उजुरी वा कारबाहीको खबर आएको छैन।
विवादसँग पृथ्वी शाको सम्बन्ध नयाँ होइन। केही वर्षअघि एक युट्युबरसँगको उनको झगडाको भिडियो भाइरल भएको थियो, जसमा उनी सडकमा हातपात गर्दै देखिएका थिए। सोही प्रकरणमा उनीविरुद्ध प्रहरीमा उजुरीसमेत परेको थियो।
लामो समयदेखि भारतीय राष्ट्रिय टोलीबाट बाहिर रहेका शा घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेर पुनरागमन गर्ने प्रयासमा छन्। उनी हालै सम्पन्न आईपीएल २०२५ को मेगा अक्सनमा समेत अनसोल्ड रहेका थिए।
असोज २२, २०८२ बुधबार १२:५६:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।