तेस्रो पटक अवरुद्ध चीनसँगको व्यापारिक मार्ग, स्याफ्रु-रसुवागढी सडक मर्मत थालियो

रसुवा : अविरल वर्षापछि खसेको पहिरोले क्षतविक्षत बनाएको चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक मार्ग स्याफ्रु-रसुवागढी सडकको मर्मत कार्य शुरू गरिएको छ।
गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी सडक सुधार आयोजनाका प्रमुख कृष्णनाथ ओझाका अनुसार, याङयाङदेखि रसुवागढीसम्मको करिब १६ किलोमिटर सडकखण्डको २० भन्दा बढी स्थानमा पहिरोले क्षति पुऱ्याएको छ।
सडक विभागको डोजर र गोसाइँकुण्ड गाउँपालिकाको स्काभेटर प्रयोग गरी संयुक्त रूपमा पहिरो पन्छाउने काम थालिएको हो।
मर्मतमा लाग्ने खर्च सम्बन्धित निकायले नै व्यहोर्ने सहमति भएको गोसाइँकुण्ड गाउँपालिकाले जनाएको छ। यो वर्षायाममा मात्रै उक्त राजमार्ग बाढीपहिरोले क्षतिग्रस्त भई अवरुद्ध भएको यो तेस्रो पटक हो।
गत असार र साउनमा अवरुद्ध सडक हालै मात्र मर्मत गरी सञ्चालनमा ल्याइएको थियो।
यसैबीच, गत असार २४ गतेको बाढीले बगाएको ल्हेन्दे खोलाको मितेरी पुलको स्थानमा बेलिब्रिज निर्माण कार्य धमाधम भइरहेको छ।
तिहारसम्ममा बेलिब्रिज तयार हुने अनुमान गरिएको छ। पुल बगाएपछि चीनसँगको व्यापारिक नाका पूर्ण रूपमा बन्द भएको थियो।
असोज २२, २०८२ बुधबार ११:५४:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।