टी२० विश्वकपको अन्तिम तीन स्थानको छनोट आजदेखि, नेपालसहित नौ देशबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं : भारत र श्रीलंकामा हुने टी२० विश्वकप खेल्ने अन्तिम तीन टोलीको टुङ्गो लगाउन आजदेखि ओमानमा विश्वकप छनोटको एसिया र इस्ट एसिया प्यासिफिक क्षेत्रका नौ वटा देशबीच प्रतियोगिता हुँदैछ।
यो प्रतियोगिता आफैँमा विशेष छ किनभने यसमा एसिया र इस्ट एसिया-प्यासिफिक गरी दुई फरक क्षेत्रका टोलीहरूले सँगै प्रतिस्पर्धा गर्दैछन्।
नेपाल, ओमान र पपुवा न्युगिनी (पीएनजी) ले गत विश्वकप खेलेकाले सिधै यो अन्तिम छनोट खेल्न पाएका हुन् भने बाँकी ६ टोलीले आ-आफ्नो क्षेत्रको छनोट जितेर यहाँसम्मको यात्रा तय गरेका हुन्।
यो प्रतियोगितामा नेपाललाई बलियो दाबेदारको रूपमा हेरिएको छ। हालै मात्र नेपालले वेस्ट इन्डिज जस्तो शक्तिशाली टोलीलाई हराएकाले सबैको ध्यान तानेको हो।
नेपाली टोलीको ब्याटिङ निकै सन्तुलित देखिएको छ भने अलराउन्डर कुशल भुर्तेलले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।
कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोलीमा गत विश्वकप खेलेका धेरैजसो खेलाडी छन्, जसले गर्दा टोली निकै अनुभवी र बलियो बनेको छ।
नेपालबाहेक आयोजक ओमान र पीएनजी पनि बलिया टोली हुन्, यद्यपि उनीहरूले आफ्नो टोलीमा केही नयाँ खेलाडीलाई मौका दिएका छन्। कुवेतलाई पनि कमजोर आँक्न मिल्दैन र उसले जुनसुकै बेला पनि नतिजा उल्टाउन सक्छ।
यसपटकको छनोटमा केही नयाँ टोलीले पनि सबैलाई चकित पारेका छन्। सामोआले आफ्नो छनोट चरणमा उत्कृष्ट प्रदर्शन गर्दै यहाँसम्मको यात्रा तय गरेको हो।
अझ रोचक कुरा त के छ भने, न्युजिल्यान्डका पूर्व चर्चित खेलाडी रस टेलरले पनि सामोआबाट खेल्दैछन्। उनले आफ्नी आमाको देशबाट खेल्नका लागि क्रिकेटबाट लिइसकेको सन्यास समेत तोडेका हुन्, जसले सामोआको टोलीलाई निकै बलियो बनाएको छ।
त्यसैगरी, जापानले पनि आफ्नो छनोटमा सबै खेल जितेर आएको छ।
कसरी हुन्छ विश्वकपमा छनोट?
प्रतियोगितामा सहभागी नौ टोलीलाई तीनवटा समूहमा बाँडिएको छ। समूह ‘ए’मा मलेसिया, कतार र युएई, समूह ‘बी’मा नेपालसहित जापान र कुवेत छन् भने समूह ‘सी’ ओमानसहित पपुवा न्युगिनी र सामोआ छन्।
हरेक समूहबाट शीर्ष दुईमा पर्ने टोली ‘सुपर सिक्स’ चरणमा पुग्नेछन्। त्यहाँ उनीहरूले दुई फरक समूहबाट आएका चार टोलीसँग प्रतिस्पर्धा गर्नेछन्।
सुपर सिक्सको खेल सकिएपछि अंक तालिकामा शीर्ष तीनमा रहने टोलीले सिधै २०२६ को टी२० विश्वकप खेल्न पाउनेछन्।
असोज २२, २०८२ बुधबार ११:२४:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।