महिला क्रिकेट : मलेसियाविरुद्धको पाँच खेलकाे टी२० सिरिज नेपाललाई

महिला क्रिकेट : मलेसियाविरुद्धको पाँच खेलकाे टी२० सिरिज नेपाललाई

काठमाडौं : अन्तिम खेलमा मलेसियालाई पाँच विकेटले पराजित गर्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पाँच खेलको टी२० सिरिज जितेको छ।

मलेसियाको बायोमास ओभलमा भएको अन्तिम खेलमा १०३ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य भेट्टाएसँगै नेपालले सिरिज ३-२ ले जितेको हो।

२-२ को बराबरीमा रहेको सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालका लागि रुबि पोद्दारले सर्वाधिक २६ रन बनाउँदा पूजा महतो २३, रुबिना क्षेत्री नटआउट १५, कविता कुँवर १४ र सम्झना खड्काले १३ रन जोडिन्।

कप्तान इन्दु बर्मा ८ रनमा आउट हुँदा कविता जोशीले नटआउट १ रन बनाइन्।

मलेसियाका ऐना हमिज, नुर दानिया, आइसा एलिना, माहिरा इज्जती र नुर आल्याले समान एक-एक विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १०३ रन जोड्न सक्यो।

उसका लागि विनिफ्रेड दुराइसिंगमले सर्वाधिक ४० रन बनाउँदा माहिरा इज्जतीले १९, ऐना हमिजले १५, नुर दानियाले ११ तथा नुर इज्जतुल सफिकले १० रन बनाइन्।

नेपालका लागि राजमती ऐरी र कविता कुँवरले तीन-तीन विकेट लिए। ऐरीले तीन ओभरमा १५ रन खर्चँदा कुँवरले चार ओभरमा १६ रन खर्चिएकी थिइन्।

त्यसबाहेक रचना कुमारी चौधरीले पनि एक विकेट लिएकी थिइन्।

पाँच खेलको सिरिजको पहिलो खेल मलेसियाले तीन रनले जितेको थियो भने दोस्रो खेलमा नेपालले ६ विकेटको जित निकाल्दै उत्कृष्ट पुनरागमन गरेको थियो।

तेस्रो खेलमा मलेसियाले १३ रनले जित्दा चौथो खेल नेपालले फेरि ६ विकेटले जितेको थियो।

असोज २२, २०८२ बुधबार १०:४४:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।