टी२० विश्वकप छनोटका लागि नेपाल आज कुवेतसँग भिड्दै

काठमाडौं : टी-२० विश्वकपमा स्थान बनाउने लक्ष्यका साथ नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज आफ्नो छनोट यात्राको सुरुवात गर्दैछ।
ओमानमा आजबाट शुरू हुने आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा कुवेतको सामना गर्न लागेको हो।
खेल नेपाली समयानुसार राति ८:४५ बजे शुरू हुनेछ। प्रतियोगितामा बलियो दाबेदार मानिएको नेपालका लागि विजयी सुरुवात गर्नु निकै महत्त्वपूर्ण हुनेछ।
आजबाट शुरू भएको यस प्रतियोगितामा कुल नौ राष्ट्र सहभागी छन्, जसबाट शीर्ष तीन टोलीले आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा स्थान बनाउनेछन्।
नेपाल समूह ‘बी’ मा छ, जहाँ कुवेत र जापान पनि रहेका छन्। समूह ‘ए’ मा मलेसिया, कतार र यूएई छन् भने समूह ‘सी’ मा आयोजक ओमान, पपुवा न्युगिनी र सामोआ छन्।
प्रत्येक समूहका शीर्ष दुई टोली ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछन्। सुपर सिक्सबाट शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् र अन्ततः शीर्ष तीन टोली विश्वकपका लागि छनोट हुनेछन्।
नेपाललाई प्रतियोगिताको उपाधि दाबेदार मानिए पनि कुवेतलाई कमजोर आँक्न मिल्दैन। पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएको कुवेतले नेपाललाई कडा टक्कर दिने अनुमान छ।
गत अप्रिलमा हङकङमा भएको चार देशीय प्रतियोगिताको फाइनलमा नेपालले कुवेतलाई केवल ३ रनको साँघुरो अन्तरले पराजित गरेको थियो। यद्यपि, सोही प्रतियोगिताको लिग चरणमा नेपालले ६ विकेटको सहज जित निकालेको थियो।
नेपाल र कुवेतबीच हालसम्म तीनवटा टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन्, जसमा नेपालले दुई खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ।
खेलअघि नेपाली टोलीका कप्तान रोहित पौडेलले कुवेतले पछिल्लो समय राम्रो क्रिकेट खेलेको स्वीकार गर्दै नेपालले आफ्नो क्षमताअनुसार प्रदर्शन गर्न सके प्रतियोगितामा बलियो दाबेदारी प्रस्तुत गर्ने बताए।
यता, कुवेतका प्रमुख ब्याटर मित भावसारले नेपाल बलियो र अनुभवी खेलाडीसहितको टोली भए पनि आफूहरू हरेक बलमा कडा प्रतिस्पर्धा गर्न तयार रहेको बताएका छन्।
नेपालले आफ्नो दोस्रो खेल शुक्रबार जापानसँग खेल्नेछ। नेपाल र जापानबीच टी-२० अन्तर्राष्ट्रियमा यो पहिलो प्रतिस्पर्धा हुनेछ।
असोज २२, २०८२ बुधबार १०:०७:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।