घरायसी विवादको आवेगमा खुकुरी प्रहार, नुवाकोटमा श्रीमानले लिए श्रीमतीको ज्यान

विदुर : नुवाकोटको शिवपुरी गाउँपालिकामा एक श्रीमानले आफ्नै श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन्।
सामान्य घरायसी विवाद चर्किएपछि मंगलबार साँझ शिवपुरी-७ का जीतमान तामाङले ४९ वर्षीया श्रीमती सविना तामाङको ज्यान लिएका हुन्।
जिल्ला प्रहरी कार्यालय, नुवाकोटका अनुसार तामाङले खुकुरी प्रहार गर्दा सविनाको घटनास्थलमै मृत्यु भएको थियो।
प्रहरी नायब उपरीक्षक (डिएसपी) विक्रम लामाले घटनाबारे जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेर अभियुक्त जीतमानलाई नियन्त्रणमा लिएको जानकारी दिए।
प्रहरीसमक्ष उनले सामान्य विवादपछि आवेशमा आएर श्रीमतीको हत्या गरेको प्रारम्भिक बयान दिएका छन्।
पक्राउ परेका तामाङमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
असोज २२, २०८२ बुधबार ०९:५२:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।