रास्वपाको सचिवालय बैठक आज : ‘सद्भाव यात्रा’ देखि ‘जेन-जी आन्दोलन’का शहीदको सम्झनासम्मका एजेण्डा

रास्वपाको सचिवालय बैठक आज : ‘सद्भाव यात्रा’ देखि ‘जेन-जी आन्दोलन’का शहीदको सम्झनासम्मका एजेण्डा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ।

पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा अपरान्ह ३ बजे बस्ने बैठकले समसामयिक राजनीतिक विषयका साथै पार्टीका आगामी अभियानबारे निर्णय लिने पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए।

बैठकका लागि चारवटा मुख्य कार्यसूची तय गरिएको छ। जसअनुसार पार्टीको आन्तरिक रणनीति तय गर्न बोलाइने ‘विस्तारित बैठक’को एजेण्डा र व्यवस्थापनबारे छलफल हुनेछ।

त्यसैगरी, मनसुनपछिको विपद् व्यवस्थापनमा पार्टीको भूमिका र आगामी दिनमा सञ्चालन गरिने अभियानबारे पनि बैठकमा छलफल हुनेछ।

रास्वपाले पछिल्लो समय सामाजिक सद्भाव खलबल्याउने प्रयास भइरहेको भन्दै देशव्यापी रूपमा ‘सद्भाव यात्रा’ गर्ने तयारी गरेको छ। आजको बैठकले उक्त यात्राको कार्यसूची र स्वरूपलाई अन्तिम रूप दिनेछ।

यसैबीच रास्वपाले जेन-जी आन्दोलन भएको एक महिना पुगेको अवसरमा सहादत प्राप्त गर्नेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न ‘श्रद्धा सुमन सभा’ आयोजना गर्ने भएको छ।

पार्टीले असोज २३ गते साँझ ६ बजे देशभर एकसाथ श्रद्धाञ्जली सभा आयोजना गर्न लागेको हो।

असोज २२, २०८२ बुधबार ०९:२५:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।