संस्कृति जोगाउन आएको बजेटबाट मन्त्रीले ३२ हजारको मासु र रक्सी खाएको आरोप, मन्त्री र सचिवालयद्वारा अस्वीकार

संस्कृति जोगाउन आएको बजेटबाट मन्त्रीले ३२ हजारको मासु र रक्सी खाएको आरोप, मन्त्री र सचिवालयद्वारा अस्वीकार

बुटवल : लुम्बिनी प्रदेशका एक मन्त्री र स्थानीय समिति, संस्कृति संरक्षणका लागि आएको सरकारी बजेट दुरुपयोग गरेको आरोपमा विवादमा तानिएका छन्।

बुटवलको ऐतिहासिक जीतगढीमा गत वर्ष आयोजित सरायँ नाचको उद्घाटन गर्न पुगेका उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्डविक्रम न्यौपानेले आयोजकको खर्चमा ३२ हजार रुपैयाँको रक्सी र मासु खाएको गम्भीर आरोप लागेको छ।

यो विवाद त्यतिमा मात्र सीमित छैन। संस्कृति जगेर्नाका लागि प्रदेश सरकारले दिएको अनुदान रकमबाट व्यवस्थापन समितिका पदाधिकारीहरूले आफ्नो लागि दौरा-सुरुवाल र कोट सिलाएको तथ्य पनि बाहिर आएको छ।

के हो विवादको जड?
गत वर्ष चतुर्दशीका दिन जीतगढी मन्दिरमा आयोजना गरिएको परम्परागत सरायँ नाच कार्यक्रमको उद्घाटन गर्न मन्त्री न्यौपाने प्रमुख अतिथि बनेर पुगेका थिए।

सोही कार्यक्रमपछि मन्त्री र उनको सचिवालयका लागि गरिएको खानपानमा ३२ हजार रुपैयाँ खर्च भएको र त्यो रकम आयोजक समितिले व्यहोरेको आरोप लागेको हो।

जीतगढी सरायँ व्यवस्थापन समितिका सल्लाहकार ऋषि आजातले नै यो विषयलाई सार्वजनिक गरेका हुन्। उनले सामाजिक सञ्जालमार्फत मन्त्रीको भोजभतेरको खर्च र समितिको अपारदर्शीताबारे खुलासा गरेका थिए।

आजातका अनुसार, संस्कृति संरक्षणका लागि आएको पैसाले मन्त्रीलाई रक्सी-मासु खुवाइयो। यति मात्र होइन, समिति र सल्लाहकारहरूले दौरा-सुरुवाल, आस्कोट र टोपी सिलाएर बजेटको दुरुपयोग गरे।

उनले आफ्नो पोस्टमा थप लेखेका छन्, ‘सरायँको दिन चिटिक्क परेर नाचमा पुगियो। तर, त्यो पोशाक लगाउने र नलगाउनेबीच विवाद भयो। पछि धेरैले आलोचना गरे, थुक्क भने। तर समितिले धैर्यपूर्वक सुन्न र सुधार गर्न चाहेन।’

समितिको दाबी : ‘रक्सी खुवाएको होइन, पोशाक निर्णयअनुसारै हो’
आरोपहरू सार्वजनिक भएपछि जीतगढी सरायँ व्यवस्थापन समितिका अध्यक्ष खिमबहादुर थापाले त्यसको खण्डन गरेका छन्। उनले आजातले लगाएको आरोपले समितिलाई गम्भीर बनाएको भन्दै मन्त्रीलाई रक्सी-मासु खुवाएको कुरामा सत्यता नभएको दाबी गरे।

‘उद्घाटनमा आउनुभएका मन्त्रीज्यूलाई आवासको व्यवस्थापन हामीले गरेका हौं, तर बाहिर हल्ला भएजस्तो मदिरा र मासु खुवाइएको होइन’, थापाले भने।

समितिका सदस्यहरूले दौरा-सुरुवाल किनेको विषयमा भने उनले स्वीकार गरे।

‘यो समितिको सर्वसम्मत निर्णय हो। कार्यसमितिका २५ जना पुरुषलाई दौरा-सुरुवाल र ३ जना महिला सदस्यलाई ढाकाको ब्लाउज र सारी खरिद गरिएको हो,’ उनले स्पष्ट पारे, ‘त्यसबाहेक समितिमा राख्ने गरी ७५ थान स्टकोट र टोपी किनेर राखेका छौं, जुन सरायँ नाचका बेला मात्र लगाउने निर्णय छ।’

अध्यक्ष थापाले सबै खर्च पारदर्शी रहेको र उक्त खर्चलाई समितिको २०८१ पुस २९ गतेको निर्णयबाट अनुमोदनसमेत गरिएको बताए। उनले हिसाबकिताब दुरुस्त राखिएको दाबी गर्दै संस्कृति बचाउनकै लागि रकम खर्च भएको जिकिर गरे।

उक्त कार्यक्रमका लागि लुम्बिनी प्रदेश पर्यटन विकास परिषद्ले करकट्टी गरेर २ लाख रुपैयाँ अनुदान दिएको थियो। समितिले गत वर्ष सो रकमबाट १ लाख ८४ हजार रुपैयाँ बराबरको हतियार (ढाल, तरबार), चँवर, ध्वजा र कपडा किनेको जनाएको छ।

मन्त्री र सचिवालयको खण्डन
यस विषयमा सम्पर्क गर्दा मन्त्री न्यौपानेले उक्त आरोप निराधार रहेको बताए। उनले आफू सो दिन कार्यक्रम सकेर बुटवलमा नबसी सिधै दाङ गएको दाबी गरे।

मन्त्री न्यौपानेको सचिवालयले पनि एक विज्ञप्ति जारी गर्दै आरोपको खण्डन गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘सरायँ नाचमा मन्त्रीज्यूलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको सत्य हो। तर, मन्त्रीले रक्सी र मासु खाएर आयोजकलाई आर्थिक भार पारिदिएको भन्दै गरिएको प्रचारबाजी निन्दनीय छ। आयोजकहरूबीचको व्याप्त आन्तरिक झगडामा मन्त्रीको नाम जोडेर गलत प्रचार गरिनु उहाँको चरित्र हत्या गर्ने प्रयास हो भन्नेमा हामी स्पष्ट छौँ।’

सचिवालयले आरोप लगाइएजस्तो कुनै गतिविधि मन्त्रीबाट नभएकाले यसप्रति दुविधामा नपर्न सबैलाई अनुरोध गरेको छ।

उक्त कार्यक्रमका लागि लुम्बिनी प्रदेश पर्यटन विकास परिषद्ले करकट्टी गरेर २ लाख रुपैयाँ अनुदान दिएको थियो, जसमध्ये समितिले गत वर्ष १ लाख ८४ हजार रुपैयाँ बराबरको हतियार (ढाल, तरबार), चँवर, ध्वजा र कपडा किनेको जनाएको छ।

असोज २२, २०८२ बुधबार ०९:३९:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।