दशैं अवधिमा लुम्बिनी प्रदेशमा ५ सय ३६ सवारी दुर्घटना, २२ जनाले गुमाए ज्यान

दशैं अवधिमा लुम्बिनी प्रदेशमा ५ सय ३६ सवारी दुर्घटना, २२ जनाले गुमाए ज्यान

बुटवल : दशैंको अवधिमा लुम्बिनी प्रदेशमा भएका ५ सय ३६ वटा सवारी दुर्घटनामा परी २२ जनाले ज्यान गुमाएका छन्।

नेपाल प्रहरी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार असोज ६ गतेदेखि १९ गतेसम्मको अवधिमा भएका ती दुर्घटनामा १ सय ४८ जना गम्भीर र ५ सय ८७ जना सामान्य घाइते भएका छन्।

ट्राफिक प्रहरी कार्यालयका अनुसार प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा बढी मानवीय र भौतिक क्षति रुपन्देहीमा भएको छ। सो अवधिमा रुपन्देहीमा मात्र १ सय ३५ वटा सवारी दुर्घटना भएका थिए, जसमा ७ जनाको मृत्यु भयो।

कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपेश बस्यालका अनुसार बाँकेमा ४, बर्दिया र कपिलवस्तुमा ३/३, अर्घाखाँची र पाल्पामा २/२ तथा दाङमा १ जनाको दुर्घटनामा परी मृत्यु भएको छ।

मृत्यु हुनेमा १२ जना पुरुष, ७ जना महिला र ३ जना बालबालिका रहेको प्रहरीले जनाएको छ।

चाडपर्वको समयमा तीव्र गति, मादक पदार्थ सेवन र सडक नियमको उल्लङ्घनका कारण दुर्घटना बढेको ट्राफिक प्रहरीको प्रारम्भिक विश्लेषण छ।

असोज २२, २०८२ बुधबार ०८:४२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।