हिमाचलमा पहिरोले बस पुरिँदा १५ जनाको मृत्यु

हिमाचलमा पहिरोले बस पुरिँदा १५ जनाको मृत्यु

एजेन्सी : भारतको हिमाचल प्रदेशस्थित बिलासपुर जिल्लामा मङ्गलबार पहिरोले एउटा बस पुरिँदा भएको दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ। यसअघि मृतकको सङ्ख्या १० रहेको बताइएको थियो।

हिमाचल प्रदेशका उपमुख्यमन्त्री मुकेश अग्निहोत्रीले बिलासपुर जिल्लामा एउटा निजी बस दुर्घटनाग्रस्त भएको पुष्टि गरेका हुन्।

उनले भने, ‘यस दुर्घटनामा १५ जनाको ज्यान गएको छ। १८ जनाको उद्धार गरिएको छ, जसमध्ये तीन जनालाई अस्पताल पठाइएको छ। बसमा कति जना सवार थिए भन्ने यकिन हुन सकेको छैन। प्रारम्भिक अनुमानअनुसार २५ देखि ३० जना सवार थिए।’

मुख्यमन्त्री सुखविन्दर सिंह सुक्खूले यस दुःखद घटनाप्रति गहिरो शोक व्यक्त गरेका छन्। उनले मृतकका परिवारजनप्रति समवेदना प्रकट गर्दै दिवंगत आत्माको शान्तिका लागि ईश्वरसँग प्रार्थना गरे।

मुख्यमन्त्रीले प्रदेश सरकार यस कठिन घडीमा पीडित परिवारको साथमा रहेको र हरसम्भव सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए।

यसैगरी, दुर्घटनामा भएको मानवीय क्षतिप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री कार्यालयले ‘प्रधानमन्त्री राष्ट्रिय राहत कोष’बाट मृतकका परिवारलाई जनही २ लाख र घाइतेहरूका लागि जनही ५० हजार रुपैयाँ क्षतिपूर्तिको घोषणा गरेको छ।

पछिल्ला दुई दिनदेखि हिमाचल प्रदेशसहितका पहाडी राज्यहरूमा भारी वर्षा र हिमपात भइरहेको छ। खराब मौसमका कारण त्यहाँको जनजीवन प्रभावित बनेको छ। मङ्गलबार पनि मनाली, चम्बा, मन्डी र आसपासका क्षेत्रमा हल्का वर्षा भएको थियो।

असोज २२, २०८२ बुधबार ०७:४४:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।