विश्वकर्मा पूजाको विवादले उग्र रुप लिँदा सिरहामा दलित बस्तीमाथि आक्रमण, वडाध्यक्षसहित तीन पक्राउ
सिरहा : विश्वकर्मा पूजाको दिन भएको सामान्य विवादले उग्र रुप लिँदा सिरहाको कल्याणपुर नगरपालिका-८ स्थित अरङ गाउँमा पाँच दलित परिवारमाथि साङ्घातिक आक्रमण भएको छ।
असोज १७ गते करिब दुई दर्जन व्यक्तिको समूहले दलित बस्तीमा प्रवेश गरी घर तोडफोड, लुटपाट र कुटपिट गरेको हो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले वडाध्यक्षसहित तीन जनालाई पक्राउ गरेको छ।
के थियो घटना?
असोज १ गते विश्वकर्मा पूजाको अवसरमा गाउँमा आयोजना गरिएको आर्केस्ट्रा कार्यक्रममा नाचगान गर्ने क्रममा केही दलित युवा र स्थानीय प्रभाषसिंह राजपुतबीच सामान्य भनाभन भएको थियो। सोही विवादलाई लिएर दलित परिवारलाई बस्तीबाटै उठाइदिने धम्की आएपछि उनीहरूले सुरक्षाका लागि इलाका प्रहरी कार्यालय, कल्याणपुरमा निवेदन दिएका थिए।
प्रहरीले विवाद समाधानका लागि असोज १२ गते छलफल बोलाए पनि सो दिन छलफल हुन सकेन। पुनः असोज २१ गतेका लागि अर्को छलफल तोकिएको थियो। तर, छलफल हुनुभन्दा चार दिनअघि नै असोज १७ गते शुक्रबार दिउँसो करिब २०-२५ जनाको समूहले दलित बस्तीमा आक्रमण गरेको पीडितहरूले बताएका छन्।
प्रहरीकै अगाडि तोडफोड र लुटपाट
पीडित सोभित पासमानका अनुसार आक्रमणकारी समूहले पाँचवटा घर तहसनहस पारेको थियो।
‘तोडफोड र लुटपाट भइरहँदा इलाका प्रहरी कार्यालय कल्याणपुरका केही प्रहरी घटनास्थलमै थिए, तर उनीहरूले रोक्ने प्रयास गरेनन्,’ पासमानले भने, "प्रहरीको मौनताले हामीलाई थप भयभित बनायो।’
आक्रमणकारीले अशोक पासमानको घरबाट चार आना सुन र ३० तोला चाँदी, रासलाल पासमानको घरबाट चार आना सुन, १० तोला चाँदी र १८ हजार नगद, तथा बिन्दे पासमानको घरबाट २० तोला चाँदी, दुई आना सुन र तीन हजार नगद लुटेको पीडितको दाबी छ।
यसका साथै राजकुमार पासमानको घरबाट खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा र बगैंचामा रहेका आँप, केरा र कागतीका बोट समेत नष्ट गरिएको छ। आक्रमणबाट पाँच परिवारका करिब ३० जना सदस्य अलपत्र परेका छन्।
वडाध्यक्षसहित १३ जनाविरुद्ध जाहेरी, तीन पक्राउ
पीडितहरूले इलाका प्रहरी कार्यालय मिर्चैयामा वडाध्यक्ष रामकिशोर यादवसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएका छन्। जाहेरीमा आपराधिक उपद्रव, लुटपाट र जातीय दुरुत्साहनको आरोप लगाइएको छ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख, प्रहरी नायब उपरीक्षक राजेशराज पुरीका अनुसार भिडलाई उक्साएको आरोपमा वडाध्यक्ष यादव, गणेश कामती र कलास सिंहलाई पक्राउ गरिएको छ।
‘जाहेरीमा नाम परेका तीन जनालाई हिरासतमा लिई अनुसन्धान थालिएको छ र अन्य फरार अभियुक्तहरूको खोजी भइरहेको छ’, डिएसपी पुरीले जानकारी दिए।
स्थानीय सरकार र प्रशासनको पहल
घटनाको भोलिपल्ट प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी र जिल्ला प्रहरी प्रमुख एसपी अनन्तराम शर्माले घटनास्थलको अनुगमन गरी पीडित परिवारलाई त्रिपाल, कम्बल र झुलजस्ता सामग्री वितरण गरेका थिए।
यसैगरी, कल्याणपुर नगरपालिकाले पनि पीडित परिवारलाई राहत सामग्री उपलब्ध गराएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवका अनुसार प्रतिपरिवार २५ किलो चामल, दाल, चिउरा, आलु, प्याज लगायतका खाद्यान्न वितरण गरिएको छ।
कार्यबाहक नगर प्रमुख रेखादेवी यादवले पीडितको आवास व्यवस्थापनका लागि नगरपालिकामा छलफल भइरहेको बताइन्।
असोज २२, २०८२ बुधबार ०७:२६:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।