पश्चिमी वायुको प्रभाव : सुदूरपश्चिम र कर्णालीसहित पहाडी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव : सुदूरपश्चिम र कर्णालीसहित पहाडी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं : आज देशका पश्चिमी प्रदेशहरूमा पश्चिमी वायुको प्रभाव देखिएको छ भने अन्य भू-भागमा मनसुनी तथा स्थानीय वायुको कमजोर प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसले गर्दा आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिन अनुसार, दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा मौसम साधारणतया बदली रहनेछ। बाँकी तराईका क्षेत्रहरूमा भने आंशिक बदली रहने पूर्वानुमान छ।

वर्षाको सम्भावनाबारे महाशाखाले भनेको छ, ‘कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।’

आज राती कोशी र मधेश प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। रातीको समयमा कोशी र मधेश प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

मौसमविद्हरूका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशको पश्चिमी भू-भाग र गण्डकी प्रदेशको पश्चिमी भू-भागका थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव छ। देशका अन्य भू-भागमा भने मनसुनी तथा स्थानीय वायुको प्रभाव कमजोर हुँदै गएको छ, जसकारण मौसममा मिश्रित अवस्था देखिएको हो।

असोज २२, २०८२ बुधबार ०७:१८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।