जब सन्तोष सेन झूट बोलेको पोल खुल्यो...

काठमाडौं : नेपाली फिल्मका निर्माता तथा निर्देशकहरू आफ्नो फिल्मका कलाकारको पारिश्रमिक यति हो, उति हो भन्ने कुरामा पछि पर्दैनन्। नेपाली कलाकार पनि पारिश्रमिकका विषयमा अनमोल देखिन्छन्।
तीन महिनाअघि सन्तोष सेनले एक अन्तरवार्तामा आफ्नो फिल्म ‘बलिदान’ का अभिनेता समिर भट्टलाई अहिले डेढ करोड बोकेर निर्माताहरू भेट्न जाने गरेको कुरा गरेका थिए। मज्जाको टिभीसँगको अन्तरवार्तामा सेनले समिरलाई फिल्म खेलाउनका लागि निर्माता तथा निर्देशकहरू डेढ करोड बोकेर जाने गरेको दाबी गरेका थिए।
अन्तरवार्ताका क्रममा प्रस्तोताले सोधिन्, “समिरले अहिले नेपाली फिल्म क्षेत्रमा अहिलेसम्म कसैले नलिएको पारिश्रमिक लिएका हुन्?” जवाफमा सेनले भने, “पारिश्रमिकको विषयमा जसमा गुण हुन्छ, उसले लिन्छ। गुणस्तर त हुनैपर्छ नि। गुणस्तरीय कलाकार नहुँदा मलाई किन चाहियो समिर?”
उनी थपे, “समिरले उद्योगमा कति योगदान दिएका छन् भन्ने कुरा हेर्नुपर्छ। पारिश्रमिकबारे कुरा गर्नभन्दा पनि चलचित्रलाई गुणस्तरीय बनाउन कसैले सोच्दैन, सबै पारिश्रमिककै कुरा गर्छन्।”
उनको अनुहारबाट रमाइलो पारामा ढाँटेको झल्को देखिन्थ्यो। तर, प्रस्तोताले समिरको पारिश्रमिक कति हो भन्ने कुरा निकाल्ने प्रयास गरिरहेकी थिइन्। अन्ततः सेनले हाँस्दै भने, “समिर भट्टलाई अहिले त डेढ करोड दिन्छन्, डेढ करोड बोकेरै फिल्म खेलाउन जान्छन्। उनले वर्षमा तीनवटा फिल्म खेलेर डेढ–डेढ करोड लिए पनि हुन्छ, तर उनले खेल्दैनन्।”
तर, पछिल्लो घटनामा समिर र सेन दुबैले फरक कुरा गरे। हालै फिल्म ‘बलिदान’ को हल–भिजिटका क्रममा पत्रकारले समिरलाई सोधे, “निर्माता तथा निर्देशकहरू तपाईँलाई डेढ करोड बोकेर फिल्म खेल्नका लागि आग्रह गर्न आउँछन् रे, हो?” छक्क परेका समिरले भने, “म कहाँ त यस्तो कुरा आएको छैन। कहीँ कतै कुरा भएको होला।”
उनीसँगै रहेका निर्देशक सेन भने लाजले टाउको झुकाउँछन्। कालो चस्मा लगाएका सेन समिरको जवाफ सुन्न सक्दैनन् र आफूले अन्तरवार्तामा झुटो बोलेकोमा असजिलो महसुस गर्छन्।
पत्रकारले पुनः सोध्छन्, “तपाईँलाई डेढ करोड दिन तयार छन् भन्ने कुरा पनि बाहिर आएको छ नि?” यसपछि सेन र समिर एकअर्कासँग कुरा मिलाउन खोज्छन्।
सन्तोष सेन मात्र होइन, गत भदौमा फिल्म ‘माग्ने राजा’ का मुख्य कलाकार केदार घिमिरे (माग्ने बुढा) को पारिश्रमिक ६१ लाख भनेर निर्माता मुनाल घिमिरेले हल्ला फैलाएका थिए।
तर अन्ततः माग्ने बुढाले आफुले त्यति पारिश्रमिक नलिएको र निर्माता पक्षले प्रचारका लागि हल्ला फैलाएको बताएका थिए।
यसरी कलाकारको पारिश्रमिकको झुटो प्रचार गरेर निर्माताहरू आफैं लाजमर्दो बन्ने क्रम दोहोरिएको छ। ‘१२ गाउँ’ को सफलताले समिरलाई डेढ करोडसम्मको मूल्य तोकेर सन्तोषले अन्ततः मिडियामै असहज स्थिति सिर्जना गरे।
फिल्म चलाउन पारिश्रमिकको स्टन्टबाजी होइन, कन्टेन्ट बलियो चाहिन्छ भन्ने कुरा सेनले बुझ्नुपर्थ्यो। समिरलाई सधैं ‘१२ गाउँ’ जस्तो भाग्य साथ दिन्छ भन्ने सोचेर मात्र कहाँ हुन्छ र!
असोज २१, २०८२ मंगलबार २१:३३:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।