अलैँचीको मूल्य घट्यो, प्रतिमन ८० हजारमा कारोबार

अलैँचीको मूल्य घट्यो, प्रतिमन ८० हजारमा कारोबार

सङ्खुवासभा : सङ्खुवासभामा यो वर्ष अलैँचीको मूल्य घट्दै प्रतिमन (४० किलो) रु ८० हजारमा झरेको छ। गतवर्ष यही समयमा प्रतिमन रु ९० हजारदेखि एक लाख १० हजारमा कारोबार भएको अलैँची अहिले १० देखि ३० हजारले सस्तो भएको हो।

अलैँची व्यवसायी महासङ्घ सङ्खुवासभाका अध्यक्ष कुमार श्रेष्ठका अनुसार पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा माग घट्दा मूल्यमा गिरावट आएको हो। “उत्पादन बढेको र माग कम भएकाले मूल्य घटेको हो,” उनले भने। उनका अनुसार उच्च ग्रेडको अलैँची अहिले प्रतिमन रु ८२ हजारमा, सामान्य ग्रेडको भने रु ८० हजारमा कारोबार भइरहेको छ।

गतवर्ष मूल्य सुधारतर्फ रहे पनि यसवर्ष फेरि ओरालो लागेको व्यवसायीको भनाइ छ । कालो सुनको रूपमा चिनिने अलैँची नेपाल बाहिर निर्यात हुने प्रमुख कृषि उपज हो । करिब ९८ प्रतिशत अलैँची विदेश पठाइन्छ ।

सङ्खुवासभामा हाल करिब २ हजार ८७१ हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ । गतवर्ष जिल्लामा ९४० मेट्रिक टनभन्दा बढी अलैँची उत्पादन भएको थियो।

पूर्वी पहाडी जिल्लाका किसानका लागि अलैँची आम्दानीको मुख्य स्रोत बनेको छ। सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम र धनकुटासहितका जिल्लामा यसको खेती व्यापक छ। तर, किसानहरूका अनुसार बजारको अनिश्चितता र गुणस्तरका आधारमा मूल्य निर्धारण हुँदा उनीहरूले प्रत्यक्ष लाभ लिन सकिरहेका छैनन्।

व्यवसायीहरूका अनुसार अलैँचीलाई गुणस्तरका आधारमा क, ख र ग गरी तीन तहमा वर्गीकरण गरिन्छ। सोही अनुसार मूल्यमा फरक पर्न जान्छ।

असोज २१, २०८२ मंगलबार २०:११:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।