चुनावको तयारीबारे राजनीतिक दलहरूसँग तिहारअघि नै संयुक्त बैठक गर्न आयोगलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : आगामी फागुन २१ गते तय गरिएको आम निर्वाचनका तयारीबारे प्रधानमन्त्री सुशीला कार्कीसँग आज निर्वाचन आयोगका पदाधिकारीहरूले सिंहदरबारमा भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले सोमबार सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाको कार्यान्वयन, सरकार र राजनीतिक दलहरूको समन्वय, तथा आवश्यक स्रोतसाधनको व्यवस्थाबारे विस्तृत कुराकानी भएको जनाइएको छ।
छलफलमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा लगायत सरकारका मन्त्रीहरू उपस्थित थिए।
आयोगतर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरू सहभागी थिए।
यसअघि असोज ७ गते पनि आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री कार्कीसँग निर्वाचनका विषयमा भेट गरेका थिए। भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा गठित सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचन मिति घोषणा गरेको हो।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रयासद भट्टराईका अनुसार आयोग स्वच्छ, निष्पक्ष, स्वतन्त्र र मितव्ययी निर्वाचन गराउन प्रतिबद्ध छ। उनले भने, “सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था र परिचालनमा सहयोग गर्ने अपेक्षा गरिएको छ।”
भट्टराईका अनुसार छलफलमा निर्वाचनमा नागरिकको अधिकतम सहभागिता सुनिश्चित गर्ने, दर्ता भएका राजनीतिक दलहरूसँग तिहारअघि नै संयुक्त बैठक गर्ने, र अघिल्लो संसदीय निर्वाचनमा प्रयोग भएका स्रोतसाधनहरूको मूल्यांकन गरी नयाँ व्यवस्थापनबारे योजना बनाउने विषयमा पनि कुराकानी भएको छ।
आयोगको आग्रहअनुसार प्रतिनिधिसभा निर्वाचन समयमै सम्पन्न गर्न मतदाता नामावली ऐन, २०७३ संशोधन भइसकेको र मतदाता नामावली संकलनको कार्य जारी रहेको पनि आयोगले जनाएको छ।
असोज २१, २०८२ मंगलबार १९:३१:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।