विपद्‌पीडितलाई तत्काल अनुदान र राहत उपलब्ध गराउने सरकारको निर्णय

विपद्‌पीडितलाई तत्काल अनुदान र राहत उपलब्ध गराउने सरकारको निर्णय

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १९औँ बैठकले हालैका विपद्मा घरबार गुमाएका परिवारलाई अस्थायी आवास निर्माणका लागि अनुदान रकमको पहिलो किस्ता तत्काल उपलब्ध गराउने निर्णय गरेको छ।

बैठकले विपद् घटनाका मृतक र बेपत्ताका परिवारलाई प्रचलित कानुन बमोजिम राहत उपलब्ध गराउने तथा घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

त्यसैगरी, बेपत्ता व्यक्तिहरूको खोज तथा उद्धार कार्यलाई निरन्तरता दिन र विपद्का कारण अवरुद्ध सडक, खानेपानी, विद्युत् तथा सञ्चारजस्ता अत्यावश्यक सेवा पुनः सञ्चालन गर्न सम्बन्धित मन्त्रालयहरूलाई आवश्यक कदम चाल्न भनिएको छ।

बैठकले विपद्पश्चात फैलिन सक्ने महामारीको जोखिमलाई ध्यानमा राख्दै सम्भावित क्षेत्रहरूमा जनचेतनामूलक कार्यक्रम, स्वास्थ्य शिविर तथा मनोसामाजिक परामर्शका कार्यक्रम सञ्चालन गर्न पनि निर्देशन दिएको छ।

बैठकमा अर्थ तथा सङ्घीय मामिला मन्त्री रामेश्वर प्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङ, गृह मन्त्री ओम प्रकाश अर्याल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, कृषि तथा पशुपन्छी विकास मन्त्री मदनप्रसाद परियार र सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललगायतका मन्त्रीहरू सहभागी थिए।

त्यस्तै, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह, राष्ट्रिय परिषद्का विज्ञ सदस्य गंगालाल तुलाधर, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल र सुरक्षा निकायका प्रमुखहरू पनि बैठकमा उपस्थित थिए।

असोज २१, २०८२ मंगलबार १७:५३:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।