दशैंपछिको पहिलो कारोबार दिन उच्च अंकले घट्यो सेयर बजार

काठमाडौं : दशैंपछि खुलेको पहिलो कारोबार दिन सोमबार सेयर बजार उच्च अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५८.५५ अंक अर्थात् २.१९ प्रतिशतले घटेर २६०४ अंकमा झरेको हो।
आजको कारोबारमा कुल ४ अर्ब ६२ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
नेप्सेमा १६ कम्पनीको सेयर मूल्य बढ्दा २३५ कम्पनी घटेका छन् भने एउटाको मूल्य स्थिर रह्यो। सबै उपसमूहका सूचक राताम्मे बनेका छन्।
सबैभन्दा बढी अन्य समूह ४.८३ प्रतिशतले घट्यो। नेपाल पुनर्बीमाको मूल्य भारी दरले घट्दा यो समूहमा ठूलो प्रभाव परेको हो।
बैंकिङ १.३२, विकास बैंक २.३८, फाइनान्स १.१२, होटल तथा पर्यटन २.७२, हाइड्रोपावर २.७४, लगानी १.९१, जीवन बीमा १.८६, उत्पादन तथा प्रशोधन १.८५, माइक्रोफाइनान्स १.८७, निर्जीवन बीमा २.०४ र व्यापार समूह १.१७ प्रतिशतले घटेका छन्।
व्यक्तिगत कम्पनीको हिसाबले भूगोल इनर्जी सबैभन्दा धेरै १० प्रतिशतले घट्यो। त्यसपछि नेपाल पुनर्बीमा ८.५७, माथिल्लो मैलुङखोला ७.२१ र पञ्चकन्या माइ हाइड्रोपावर ६.८७ प्रतिशतले ओरालो लागेका छन्।
तर, आज ऋणपत्रमा भने लगानीकर्ताको आकर्षण देखियो। सेन्चुरी डिबेन्चरको मूल्य १० प्रतिशत, एनआईसी एशिया ऋणपत्रको ९.११ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड डिबेन्चरको ९ प्रतिशतले बढ्यो।
आजको कारोबारमा सर्वाधिक सक्रिय कम्पनीहरूमा युनियन हाइड्रोपावर, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट र सिनर्जी पावर डेभलपमेन्ट रहेका छन्।
असोज २१, २०८२ मंगलबार १६:३१:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।