तीनदिने सरकारी भ्रमणमा उत्तर कोरिया जाँदै चिनियाँ प्रधानमन्त्री ली

काठमाडौं : चिनियाँ प्रधानमन्त्री ली किआङ आउँदो बिहीबारदेखि शनिबारसम्म उत्तर कोरियाको तीनदिने सरकारी भ्रमणमा जाँदै छन्। सन् २०१९ पछि पहिलोपटक कुनै चिनियाँ नेताको यस्तो उच्चस्तरीय भ्रमण हुन लागेको हो।
चिनियाँ विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री लीले उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टीको ८०औँ वार्षिकोत्सव समारोहमा सहभागी हुनेछन्। उनले चीनको तर्फबाट सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्योङयाङ पुग्ने जनाइएको छ। यो भ्रमणलाई दुवै देशबीचको परम्परागत मित्रता र घनिष्ठ सहकार्यको निरन्तरता का रूपमा हेरिएको छ।
चीन उत्तर कोरियाको दीर्घकालीन सहयोगी र आर्थिक सहारा मानिन्छ। तर पछिल्ला वर्षमा उत्तर कोरियाली नेता किम जोङ उनले रुससँग नजिकिँदै मस्कोलाई युक्रेन युद्धमा सहयोगको संकेत दिएका छन्। उत्तर कोरियाली सरकारी समाचार संस्था केसिएनए का अनुसार रूसले वार्षिकोत्सवमा सहभागी हुन पूर्वराष्ट्रपति दिमित्री मेदभेदेवलाई पठाउँदैछ।
चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ - “चीन र उत्तर कोरियाको सम्बन्ध अटल रणनीतिक नीतिअन्तर्गत सुदृढ, स्थायी र विकासमुखी दिशामा अघि बढिरहेको छ।”
ली किआङ चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो स्थायी समितिका सात शीर्ष नेतामध्ये एक हुन्। प्रधानमन्त्रीको रूपमा उनी राष्ट्रपति सी जिनपिङपछि दोस्रो उच्च पदस्थ व्यक्ति मानिनुहुन्छ। हाल राष्ट्रपति सीले आफ्ना विदेश भ्रमणहरू सीमित गरेकाले प्रधानमन्त्री ली अन्तर्राष्ट्रिय उपस्थितिमा बढी सक्रिय देखिनु भएको छ।
सी जिनपिङले अन्तिमपटक सन् २०१९ मा, अर्थात् कोभिड–१९ महामारीअघि, उत्तर कोरिया भ्रमण गरेका थिए। यसपटक चीनका साथै भियतनाम र लाओसका शीर्ष नेताहरू पनि समारोहमा सहभागी हुने भएका छन्।
भियतनामका कम्युनिष्ट पार्टी महासचिव तथा राष्ट्रप्रमुख टो लाम सन् २००७ पछि पहिलोपटक उत्तर कोरिया जाने तयारीमा छन् भने लाओसका राष्ट्रपति तथा महासचिव थोङ्लोन सिसोलिथ पनि कार्यक्रममा सहभागी हुनेछन्।
गत वर्षदेखि चीन–उत्तर कोरियाबीचको उच्चस्तरीय सम्पर्क फेरि सक्रिय बनेको छ। यसै वर्ष अप्रिलमा पोलिटब्युरोका अर्का सदस्य झाओ लेजीले प्योङयाङ भ्रमण गरी किम जोङ उनसँग भेट गरेका थिए। त्यस्तै, गत महिना किम जोङ उनले बेइजिङमा आयोजित चिनियाँ सैन्य परेडमा सहभागी हुँदै राष्ट्रपति भ्लादिमिर पुटिनलगायत अन्य नेताहरूसँग पनि भेटघाट गरेका थिए।
विश्लेषकहरूका अनुसार प्रधानमन्त्री लीको यो भ्रमण चीनले उत्तर कोरियासँगको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउँदै क्षेत्रीय कूटनीतिमा आफ्नो प्रभाव पुनः सुदृढ पार्ने प्रयासको रूपमा देखिएको छ।
असोज २१, २०८२ मंगलबार १४:५९:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।