नियुक्त भएको एक महिनामै फ्रान्सेली प्रधानमन्त्रीले राजीनामा दिएपछि म्याक्रोन सङ्कटमा, अब छन् चार विकल्प

एजेन्सी : फ्रान्सका प्रधानमन्त्री सेबेस्टियन लेकोर्नुले पद सम्हालेको एक महिना पनि नपुग्दै राजीनामा दिएपछि राष्ट्रपति इमानुएल म्याक्रोन गम्भीर राजनीतिक सङ्कटको भुमरीमा परेका छन्।
राजीनामा स्वीकृत भएलगत्तै उनी पेरिसको सेन नदी किनारमा सुरक्षाकर्मीबाट टाढा एक्लै फोनमा गहिरो कुराकानी गरिरहेको देखिए।
सन् २०२७ मा आफ्नो दोस्रो कार्यकाल पूरा गर्न लागेका म्याक्रोनसामु अब चारवटा जोखिमपूर्ण विकल्पहरू छन्, तर कुनै पनि सहज देखिँदैन।
विकल्प १: लेकोर्नुलाई नै पुनः नियुक्त गर्ने प्रयास
म्याक्रोनका लागि पहिलो विकल्प लेकोर्नुलाई नै नयाँ कार्ययोजनासहित पुनः नियुक्त गर्नु हो। राष्ट्रपति कार्यालयले उनलाई नयाँ योजना बनाउन दुई दिनको समय दिएको र सबै राजनीतिक शक्तिसँग अन्तिम छलफल गर्ने बताएको छ।
तर, संसद्मा बहुमत नभएकाले उनले विश्वासको मत जित्नेमा ठूलो शङ्का छ। युरोपियन पोलिसी सेन्टरका विश्लेषक पल टेलरका अनुसार, ‘मुख्य चुनौती जस्ताको तस्तै रहनेछ- बजेट, पेन्सन सुधार र आप्रवासनजस्ता विषयमा सहमति जुटाउन असम्भवप्रायः छ।’
विकल्प २: नयाँ प्रधानमन्त्रीको खोजी
यदि म्याक्रोनले नयाँ प्रधानमन्त्री नियुक्त गरेमा त्यो उनको शासनकालको आठौँ र यो वर्षको तेस्रो हुनेछ। यस्तो कदमले फ्रान्सको राजनीतिक अस्थिरतालाई थप गहिरो बनाउनेछ। वामपन्थी दलहरूले जनमुखी नीति लागू गर्न सक्ने व्यक्तिलाई प्रधानमन्त्री बनाउन दबाब दिएका छन्।
तर, युरेसिया समूहका विश्लेषकहरू चेतावनी दिन्छन्, ‘नयाँ प्रधानमन्त्री केही हप्तामै अपदस्थ हुन सक्छन्, जसले अन्ततः मध्यावधि निर्वाचनलाई नै अनिवार्य बनाउनेछ।’
विकल्प ३: मध्यावधि निर्वाचनको घोषणा
यसै वर्षको गर्मीमा गराएको मध्यावधि निर्वाचनमा कसैले पनि स्पष्ट बहुमत नपाएपछि म्याक्रोन अर्को चुनाव गराउन हिच्किचाइरहेका छन्। उक्त चुनावले फ्रान्सलाई त्रिशङ्कु संसद् दिएको थियो। तर, यदि प्रधानमन्त्री नियुक्तिसम्बन्धी सबै प्रयास असफल भएमा उनी यही बाटो रोज्न बाध्य हुन सक्ने राष्ट्रपति कार्यालयले सङ्केत गरेको छ।
यद्यपि, नयाँ चुनावले मरिन ले पेनको अति-दक्षिणपन्थी दल ‘नेशनल र्याली’ (आरएन) लाई झन् शक्तिशाली बनाउने र उहाँका उत्तराधिकारी जोर्डन बार्डेलालाई प्रधानमन्त्री बनाउने जोखिम छ।
विकल्प ४: राष्ट्रपतिको राजीनामाको दुर्लभ सम्भावना
म्याक्रोनले कार्यकाल पूरा हुनुअघि पदत्याग गर्ने कुरालाई सधैँ अस्वीकार गर्दै आएका छन्। तर, चौतर्फी दबाब र राजनीतिक गतिरोधका बीच यो सम्भावनालाई पूरै नकार्न भने सकिँदैन।
विश्लेषक सेलिया बेलिन भन्छिन्, ‘यदि नयाँ चुनावले पनि स्थायी बहुमत दिन सकेन भने राजनीतिक सङ्कट ‘शासन सङ्कट’मा परिणत हुन सक्छ। त्यस अवस्थामा राष्ट्रपति म्याक्रोनको सत्तामा टिकिरहने क्षमतामाथि नै गम्भीर प्रश्न उठ्नेछ।’
असोज २१, २०८२ मंगलबार १४:०८:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।