अख्तियार प्रमुख राईको राजीनामा माग्दै जेन-जी युवाको प्रदर्शन, मुख्यालयमा सुरक्षा कडा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको राजीनामा माग गर्दै जेन-जी पुस्ताका युवाहरूले प्रदर्शन गरेका छन्।
उनीहरूले मंगलबार बिहान टंगालस्थित अख्तियारको मुख्यालयअगाडि विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा युवाहरूले प्रमुख आयुक्त राईसहित सबै आयुक्तहरूले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने माग गरे।
विरोध प्रदर्शनअघि जेन-जी मुभमेन्ट एलायन्सका तर्फबाट अख्तियारमा प्रमुख आयुक्तको राजीनामा माग गर्दै निवेदन दर्ता गराइएको थियो।
निवेदन दर्ता गर्न अमित खनाल, रिजन राना मगर, मोनिका निरौला, हेम चौधरी र पेमा वाङ्गमो लगायतका युवाहरू टंगाल पुगेका थिए। एलायन्सले सोमबार इमेलमार्फत पनि राईलाई पद त्याग गर्न दबाबमूलक पत्र पठाएको थियो।
प्रदर्शनकारी युवाहरूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा नियुक्त भएका राईसहितका आयुक्तहरूबाट भ्रष्टाचारको निष्पक्ष छानबिन हुन नसक्ने भन्दै उनीहरूको सट्टामा निष्पक्ष व्यक्ति नियुक्त गर्नुपर्नेमा जोड दिएका छन्।
युवाहरूको प्रदर्शनलाई मध्यनजर गर्दै आज बिहानैदेखि आयोग परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको थियो।
असोज २१, २०८२ मंगलबार ११:४२:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।