मलेसियामाथि नेपालको छ विकेटको जित, सिरिज २-२ को बराबरीमा

मलेसियामाथि नेपालको छ विकेटको जित, सिरिज २-२ को बराबरीमा

काठमाडौं : मलेसियामा जारी पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजको चौथो खेलमा नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोलीलाई ६ विकेटले पराजित गर्दै सानदार पुनरागमन गरेको छ।

यो जितसँगै नेपालले सिरिजमा २-२ को रोमाञ्चक बराबरी गरेको छ।

नेपालको जितमा अलराउन्ड प्रदर्शन गरेकी कबिता कुँवर र अविजित महत्वपूर्ण पारी खेलेका इन्दु बर्मा र रुबिना क्षेत्री नायक बने। कबिता ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।

मलेसियाको बायोमास ओभलमा घरेलु टोलीले दिएको ११२ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ४ विकेट गुमाएर सफलतापूर्वक पूरा गर्यो।

नेपालको जितमा कप्तान इन्दु बर्माले अविजित रहँदै ३९ बलमा ४८ रनको म्याच-विनिङ पारी खेलिन्। उनलाई सिनियर खेलाडी रुविना क्षेत्रीले २३ बलमा २३ रन र कबिता कुँवरले २६ बलमा १६ रन बनाउँदै महत्वपूर्ण साथ दिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १११ रनको सामान्य योगफल तयार पारेको थियो।

मलेसियाका लागि मास एलिसाले एक छेउबाट अविजित रहँदै ६३ बलमा ५६ रनको अर्धशतकीय पारी खेलिन्। उनीबाहेक अन्य ब्याटरहरूले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। माहिरह इजातीले १८ र नुर दानियाले १५ रन जोडेका थिए।

नेपालकी तीव्र गतिकी बलर कबिता कुँवरले घातक बलिङ गर्दै मलेसियाको ब्याटिङ लाइनअप ध्वस्त पारेकी थिइन्। उनले आफ्नो ४ ओभरको स्पेलमा मात्र १० रन खर्चेर ३ महत्वपूर्ण विकेट लिइन्।

यस्तै, पूजा महतो र कबिता जोशीले पनि समान १-१ विकेट हात पारे।

यो जितले पाँच खेलको सिरिजलाई २-२ को बराबरीमा ल्याएको छ। अब सिरिजको अन्तिम तथा निर्णायक खेल भोलि हुनेछ।

असोज २१, २०८२ मंगलबार १०:४३:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।