मुद्राबाट चार वटा शून्य हटाउने इरानको निर्णय

एजेन्सी : बढ्दो महँगी र मुद्राको चरम अवमूल्यनबाट गुज्रिरहेको इरानले आफ्नो मुद्रा ‘रियाल’ बाट चारवटा शून्य हटाउने निर्णय गरेको छ।
इरानी संसदले यससम्बन्धी प्रस्तावलाई स्वीकृति दिएसँगै अब १० हजार रियालको नोट १ रियाल बराबर हुनेछ। यो कदम उच्च महँगीका कारण सिर्जित आर्थिक जटिलतालाई सम्बोधन गर्न चालिएको हो।
इरानी संसदको आर्थिक समितिका प्रमुख शम्सोल्दीन हुसेनले सरकारी टेलिभिजनलाई बताएअनुसार यो परिवर्तन आगामी दुई वर्षभित्र लागू हुनेछ। नयाँ मुद्रा प्रचलनमा आएपछि पनि पुराना रियाल नोटहरू थप तीन वर्षसम्म चल्तीमा रहनेछन्, ताकि आम नागरिकलाई कारोबारमा कुनै असुविधा नहोस्।
यो निर्णयको पछाडि इरानको खस्किँदो अर्थव्यवस्था र आकाशिएको महँगी प्रमुख कारण हो। विगत केही वर्षदेखि इरान ३० देखि ४० प्रतिशतको उच्च मुद्रास्फीति (महँगी) को चपेटामा छ। मे २०२५ सम्ममा यो दर ३८.७ प्रतिशत पुगेको थियो।
रियालको मूल्य यति धेरै खस्किएको छ कि हाल अन्तर्राष्ट्रिय बजारमा एक अमेरिकी डलर किन्नका लागि करिब ११ लाख ५० हजार रियाल आवश्यक पर्छ। यसले गर्दा दैनिक किनमेल, बिल भुक्तानी र बैंकिङ कारोबारमा लाखौँ-करोडौँका अंक प्रयोग गर्नुपर्ने बाध्यता छ, जसले व्यवहारिक कठिनाइ निम्त्याएको छ।
ठूला अंकका नोटहरू छाप्न र व्यवस्थापन गर्न बढी खर्च लाग्ने भएकाले साना अंकका नोटले छपाइ र व्यवस्थापन खर्च घटाउने भएकाले पनि यो निर्णय गरिएको हो।
चार शून्य हटाउँदा के असर पर्छ?
मुद्राबाट चार शून्य हटाउँदा दैनिक कारोबार सहज हुने अपेक्षा गरिएको छ। उदाहरणका लागि, हाल १० लाख रियाल पर्ने कुनै वस्तुको मूल्य अब १०० रियाल मात्र हुनेछ।
इरानमा हाल सबैभन्दा ठूलो नोट एक लाख रियालको छ, आजको मुद्रा सटही दररेट अनुसार उक्त रकम नेपाली तीन सय ३६ रुपैयाँसँग बराबर हुन्छ।
यो सुधारले मुद्राको एकाइलाई मात्र परिवर्तन गर्ने हो, यसको वास्तविक मूल्यलाई होइन। यदि सरकारले महँगी नियन्त्रण गर्न सकेन भने रियालको मूल्य घट्ने क्रम जारी रहनेछ।
ठूला अंकका कारण कम्प्युटर र मोबाइल एपहरूमा देखिने प्राविधिक जटिलताहरू कम हुनेछन् भने साना अंकले मानिसहरूलाई मुद्राको मूल्य बुझ्न र वित्तीय योजना बनाउन सहज हुने एक मनोवैज्ञानिक प्रभाव पार्न सक्छ।
सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरानको अर्थव्यवस्थाले लगातार चुनौतीहरूको सामना गर्दै आएको छ। आयात बढी र निर्यात कम हुनुले पनि रियालको मूल्यमा निरन्तर गिरावट आएको हो।
अन्तर्राष्ट्रिय प्रतिबन्धहरूले विदेशी मुद्राको अभावलाई थप गहिरो बनाएको छ भने राजनीतिक एक्लोपनले अर्थव्यवस्थालाई कमजोर बनाउँदै लगेको छ, जसको प्रत्यक्ष असर रियालको अवमूल्यनमा देखिएको छ।
असोज २१, २०८२ मंगलबार १०:३०:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।