दाङमा मतदाता नामावली दर्ता गराउने बढे

दाङमा मतदाता नामावली दर्ता गराउने बढे

घोराही : दाङमा मतदाता नामावलीमा नाम दर्ता गराउनेहरूको संख्या ह्वात्तै बढेको छ।

सरकारले मतदाता नामावलीसम्बन्धी नयाँ व्यवस्था लागू गरेसँगै जिल्लास्थित लुम्बिनी प्रदेश निर्वाचन कार्यालयमा नाम दर्ता गराउन आउनेको घुइँचो लागेको हो।

लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार, दसैँअघिका दुई दिन र सोमबार गरी तीन दिनमा मात्रै १३३ जना नयाँ मतदाता थपिएका छन्।

यसबाहेक, १६३ जनाले नाम दर्ताका लागि अग्रिम फारम भरेका छन्, जसको बायोमेट्रिक विवरण लिन बाँकी छ।

सूचना अधिकारी कुँवरले मतदाता नामावली दर्ता कार्यक्रमलाई पालिकास्तरमा विस्तार गर्न सके जिल्लामा नयाँ मतदाताको संख्या उल्लेख्य रूपमा बढ्ने बताए।

‘पालिकास्तरमा संकलन अभियान चलाउँदा २०७९ सालको निर्वाचनमा मात्रै दाङमा ५४ हजार नयाँ मतदाता थपिएका थिए,’ उनले भने, ‘त्यसैले यो माग जायज छ।’

गत २०७९ को निर्वाचनमा दाङमा कुल ४ लाख १४ हजार ९५६ मतदाता थिए।

जसअनुसार, क्षेत्र नम्बर १ मा १ लाख ३४ हजार ७३३, क्षेत्र नम्बर २ मा १ लाख ३३ हजार ७४८ र क्षेत्र नम्बर ३ मा १ लाख ४६ हजार ४७५ मतदाता रहेका थिए। हाल जारी दर्ता अभियानले यो संख्यामा थप वृद्धि गर्ने निश्चित छ।

असोज २१, २०८२ मंगलबार १०:०३:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।