हरामी चोकमा माइक्रोबस दुर्घटना, १६ जना घाइते

बागमती : मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका-४ स्थित ‘हरामी चोक’मा आज बिहान माइक्रोबस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, सिन्धुलीबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश ०२-००१ ज ००७२ नम्बरको माइक्रोबसले भित्री सडकबाट राजमार्गमा निस्किँदै गरेको ना ५ प ५५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
ठक्करपछि अनियन्त्रित भएको माइक्रोबस सडकबाट करिब १५ फिट तल खोल्सीमा खसेर दुर्घटना भएको प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिए। दुर्घटनामा मोटरसाइकल चालक र माइक्रोबसमा सवार यात्रुहरू घाइते भएका हुन्।
घाइतेहरू सबैलाई उद्धार गरी उपचारका लागि स्थानीय साम्भी पोलिक्लिनिक तथा सहकारी अस्पतालमा पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
असोज २१, २०८२ मंगलबार ०९:५६:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।