रुसी ड्रोनमा बेलायती पार्टपुर्जा भेटिएको जेलेन्स्कीको दाबी, बेलायतको यस्तो जवाफ

रुसी ड्रोनमा बेलायती पार्टपुर्जा भेटिएको जेलेन्स्कीको दाबी, बेलायतको यस्तो जवाफ

एजेन्सी : गत साता रुसले युक्रेनमाथि गरेको घातक हमलापछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हमलामा प्रयोग भएका रुसी ड्रोन तथा मिसाइलहरूमा बेलायती कम्पनीहरूले बनाएका पार्टपुर्जाहरू भेटिएको खुलासा गरेका छन्।

रुसले गत आइतबार युक्रेनमाथि मिसाइल र ड्रोनमार्फत ठूला र घातक हमलाहरू गरेको थियो। ती हमलामा प्रयोग भएका हतियारहरूको जाँच गर्दा एक लाखभन्दा बढी विदेशी पाटपुर्जा भेटिएको जेलेन्स्कीको भनाइ छ।

जेलेन्स्कीले रुसी हतियारमा जर्मनी, जापान र अमेरिका जस्ता सहयोगी देशहरूमा बनेका पाटपुर्जाहरू पनि पाइएको बताएका छन्। यससँगै उनले रुसमाथि थप ‘प्रभावकारी’ प्रतिबन्ध लगाउन माग गरेका छन्, ताकि उसले पश्चिमा देशहरूमा बनेका प्रविधिहरू आफ्नो सैन्य अभियानमा प्रयोग गर्न नसकोस्।

युक्रेनी राष्ट्रपतिको यो दाबीपछि बेलायतले तत्काल प्रतिक्रिया दिएको छ। बेलायतको व्यापार विभागले हालैका दिनहरूमा आफ्नो उत्पादन रुसको सैन्य आपूर्ति शृङ्खलासम्म पुगिरहेका कम्पनीहरूमाथि कडाइ बढाइएको जनाएको छ।

एक सरकारी प्रवक्ताले भने, ‘हामी बेलायती कम्पनीका उत्पादनहरू रुसी हतियारमा पाइएको रिपोर्टलाई अत्यन्तै गम्भीरतापूर्वक लिइरहेका छौँ।’

प्रवक्ताले अगाडि भने, ‘सरकारले रुसतर्फ निर्यात हुने हजारौँ उत्पादनहरूमा प्रतिबन्ध लगाइसकेको छ। यसमा युक्रेनले युद्धमा प्रयोग भइरहेको भनी हाम्रो ध्यानाकर्षण गराएका सबै उत्पादनहरू समावेश छन्।’

यो पहिलो पटक होइन जब जेलेन्स्कीले रुसी हतियारमा युरोपेली देशहरू र अमेरिकामा बनेका पाटपुर्जाहरू ठूलो मात्रामा प्रयोग भएको दाबी गरेका हुन्। यसअघि उनले युद्धमा रुसले भाडाका सैनिकहरू प्रयोग गरिरहेको दाबीसमेत गरेका थिए।

असोज २१, २०८२ मंगलबार ०९:२६:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।