नेपाल उत्कृष्ट टोली हो, तर हामी धेरै पछाडि छैनौँ : कतारका प्रशिक्षक टोबी बेली

काठमाडौं : आईसीसी टी-२० विश्वकप २०२६ को एसिया र ईएपी छनोटअन्तर्गतको वार्मअप खेलमा नेपालसँग १६ रनले पराजित भए पनि कतारका मुख्य प्रशिक्षक टोबी बेलीले आफ्नो टोलीको प्रदर्शनप्रति सन्तुष्टि व्यक्त गरेका छन्।
उनले नेपाल एक उत्कृष्ट टोली भएको स्वीकार्दै आफ्नो टोलीले दिएको टक्करले प्रतियोगिताका लागि राम्रो संकेत गरेको बताए।
खेलपछि हाम्रो खेलकुदसँग कुरा गर्दै बेलीले भने, ‘हामीले खेलपछि समीक्षा गर्यौँ, हामी १६ रनले पछि पर्यौँ। तर, हामीले यो बुझ्नुपर्छ कि नेपाल एक धेरै राम्रो टोली हो। उनीहरूले हालसालै वेस्ट इन्डिज जस्तो बलियो टोलीलाई दुई पटक हराएका छन्। त्यो नै अहिलेको स्तर हो।’
आफ्नो टोलीको प्रदर्शनको विश्लेषण गर्दै उनले थपे, ‘खेलको पावरप्ले सकिँदा हामी २२ रनले पछाडि थियौँ, तर त्यहाँबाट खेलमा फर्किएर हारको अन्तरलाई केवल १६ रनमा सीमित गर्नुले हामी धेरै टाढा छैनौँ भन्ने देखाउँछ। यदि हामीले केही क्षेत्रमा सुधार गर्न सक्यौँ भने यसले हामीलाई प्रतियोगितामा राम्रो फाइदा दिनेछ।’
बेलीले यी वार्मअप खेलहरू आफ्नो टोलीका लागि संयोजन मिलाउने र लय समात्ने अवसर भएको बताए।
‘यो हाम्रो पछिल्ला केही महिनायताको पहिलो दुई टी-२० खेल हो। हामी बिस्तारै सुधार गर्दैछौँ,’ उनले भने, ‘हामीले फिल्डिङमा अझै चुस्त हुनुपर्नेछ। तर दुवै खेलको अन्तिम ओभरहरूमा हाम्रो प्रदर्शन राम्रो रह्यो।’
टोलीका अनुभवी खेलाडी मोहम्मद तनबिरको प्रदर्शनको प्रशंसा गर्दै उनले भने, ‘तनबिरले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। उनले नयाँ शैली र सीपहरूलाई अपनाएका छन्, जुन यो उमेरमा निकै प्रेरणादायी छ। उनको यो मिहिनेतले टोलीका अन्य युवा खेलाडीहरूलाई पनि राम्रो गर्न हौसला मिलेको छ।’
विश्वकप छनोटको सम्भावनाबारे सोधिएको प्रश्नमा बेलीले टी-२० क्रिकेटमा जुनसुकै बेला अप्रत्याशित नतिजा आउन सक्ने बताए।
‘मैले स्कटल्यान्डसँग यस्ता पाँचवटा छनोट प्रतियोगितामा काम गरिसकेको छु, र हरेक प्रतियोगितामा अप्रत्याशित नतिजा हुने गरेको देखेको छु। हामी यहाँ जित्नकै लागि आएका हौँ र हामी हरेक खेल जित्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछौँ’, उनले आत्मविश्वासका साथ भने।
उनले आफ्नो टोलीमा प्रतिभा रहेको र सही अवसर पाएमा उनीहरूले विश्व क्रिकेटमा सनसनी मच्चाउन सक्नेमा विश्वस्त रहेको बताए।
असोज २१, २०८२ मंगलबार ०९:०७:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।