भुर्तेलको अर्धशतकमा नेपालको जित, मुख्य प्रशिक्षक भन्छन्- ‘वार्मअपको उद्देश्य पूरा भयो’

भुर्तेलको अर्धशतकमा नेपालको जित, मुख्य प्रशिक्षक भन्छन्- ‘वार्मअपको उद्देश्य पूरा भयो’

काठमाडौं : आईसीसी टी-२० विश्वकप २०२६ को एसिया तथा ईएपी छनोटको तयारीलाई अन्तिम रूप दिने क्रममा नेपालले आफ्नो दोस्रो तथा अन्तिम वार्मअप खेलमा कतारमाथि १६ रनको जित निकाल्यो।

ओमानको मस्कटस्थित क्रिकेट एकेडेमी ग्राउन्डमा भएको खेलमा ब्याटिङ र बलिङ दुवैमा सन्तुलित प्रदर्शन गर्दै नेपालले प्रतियोगिताअघि आफ्नो मनोबल उच्च बनाएको छ।

नेपालको जितमा लामो समयदेखि लय खोजिरहेका ओपनर कुशल भुर्तेलको अर्धशतकीय पारी अहम् रह्यो। उनको ब्याटिङले नेपाललाई चुनौतीपूर्ण स्कोरसम्म पुर्याउन सफल भएको थियो।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रनको बलियो योगफल तयार पारेको थियो।

नेपालको सुरुवात मध्यम रहे पनि एक छेउबाट कुशल भुर्तेलले आक्रामक ब्याटिङ जारी राखेका थिए। उनले मात्र ३३ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ५६ रनको महत्वपूर्ण पारी खेले। शारजाहमा वेस्ट इन्डिजविरुद्धको शृंखलाबाट लयमा फर्किने संकेत गरेका भुर्तेलले यो पारीमार्फत आफू पूर्ण लयमा रहेको प्रमाणित गरे।

ओपनर आसिफ शेख ११ रनमा आउट भए भने कप्तान रोहित पौडेलले ८ रन मात्र जोड्न सके। तर, मध्यक्रममा दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले नेपालको रन गतिलाई निरन्तरता दिए।

दीपेन्द्रले २१ बलमा १ चौका र ३ छक्कासहित ३८ रनको विष्फोटक पारी खेले। यस्तै, कुशल मल्लले अविजित रहँदै २९ बलमा १ चौका र २ छक्कासहित ३८ रन जोडेर नेपाललाई सम्मानजनक स्कोरमा पुर्याए। कतारका लागि शरिक मुनिर र मोहम्मद इक्रामउल्लाले समान २-२ विकेट लिए।

१७१ रनको लक्ष्य पछ्याएको कतारले राम्रो संघर्ष गरे पनि जितसम्म पुग्न सकेन। कतारले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो।

उसका लागि अनुभवी ब्याट्सम्यान मोहम्मद तनबिरले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले। उनले ३७ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

यस्तै, मिर्जा मोहम्मद बेगले २७ बलमा ४ छक्कासहित ४० रनको आक्रामक पारी खेले पनि अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन नसक्दा कतार लक्ष्यबाट चुक्यो।

नेपालका लागि तीव्र गतिका बलर करण केसीले सर्वाधिक ३ विकेट लिए। उनले ४ ओभरमा ३६ रन खर्चिए। दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी र नन्दन यादवले १-१ विकेट हात पारे। नेपालले आज अनुभवी बलर सोमपाल कामीलाई विश्राम दिएको थियो।

वार्मअपको उद्देश्य पूरा भयो: प्रशिक्षक स्टुअर्ट ल
खेलपछि बोल्दै नेपालका मुख्य प्रशिक्षक स्टुअर्ट लले वार्मअप खेलको मुख्य उद्देश्य नतिजाभन्दा पनि खेलाडीहरूको संयोजन परीक्षण गर्नु र सबैलाई अवसर दिनु रहेको बताए।

उनले भने, ‘अभ्यास खेल भनेकै अभ्यासका लागि हो। हामीले आफ्नो सही संयोजन खोज्ने र प्रतियोगितामा आवश्यक परेको खण्डमा सबै खेलाडी तयार रहुन् भनेर अवसर दिने प्रयास गर्यौं। पछिल्ला दुई दिनमा हामीले त्यो गर्न सफल भयौं भन्ने लाग्छ।’

कुशल भुर्तेलको फर्मबारे उनी निकै खुसी देखिए।

‘कुशलको फर्ममा फर्कनु हाम्रो लागि निकै महत्वपूर्ण छ। उनी शीर्ष क्रममा एक विष्फोटक ब्याट्सम्यान हुन्। वेस्ट इन्डिज विरुद्धको शृंखलाले उनको आत्मविश्वास बढाएको थियो र यहाँ उनले त्यसलाई निरन्तरता दिएका छन्’, उनले भने।

प्रतियोगितामा कुनै पनि टोलीलाई कमजोर आँक्न नहुनेमा ल सचेत छन्।

उनले थपे, ‘यो समूहलाई ग्रुप अफ डेथ भनिएको छ, तर मलाई अन्डरडग हुन मनपर्छ। हामीले कुनै पनि टोलीलाई हल्का रूपमा लिनु हुँदैन। टी-२० मा जुनसुकै नतिजा आउन सक्छ। हाम्रो तयारी राम्रो भएको छ र अब खेलाडीहरूले मैदानमा आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ।’

नेपाल बलियो टोली हो: कतारका प्रशिक्षक टोबी बेली
यता, कतारका मुख्य प्रशिक्षक टोबी बेलीले आफ्नो टोली १६ रनले पराजित भए पनि नेपालजस्तो बलियो टोलीविरुद्ध गरेको प्रदर्शनबाट सकारात्मक रहेको बताए।

उनले भने, ‘नेपाल एक उत्कृष्ट टोली हो, उनीहरूले हालसालै वेस्ट इन्डिज जस्तो टोलीलाई हराएका छन्। आजको खेलमा पावरप्लेमा हामी पछि पर्यौँ, तर त्यसपछि खेलमा फर्कियौँ। अन्त्यमा १६ रनले हार्नुले हामी उनीहरूभन्दा धेरै टाढा छैनौँ भन्ने देखाउँछ।’

उनले आफ्नो टोलीले केही क्षेत्रमा सुधार गर्नुपर्ने स्वीकार्दै प्रतियोगितामा अप्रत्याशित नतिजाहरू आउन सक्ने र आफ्नो टोली त्यसका लागि तयार रहेको बताए।

यो जितसँगै नेपालले छनोट प्रतियोगिताका लागि आफ्नो तयारी पूरा गरेको छ। नेपालले बुधबार कुवेतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। नेपाल रहेको समूह ‘बी’मा कुवेत र जापान छन्।

हरेक समूहबाट शीर्ष दुई टोली सुपर सिक्समा प्रवेश गर्नेछन्। सुपर सिक्सबाट शीर्ष तीनमा रहने टोलीले २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने टी-२० विश्वकपमा स्थान सुरक्षित गर्नेछन्।

असोज २१, २०८२ मंगलबार ०८:५८:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।