लुम्बिनीका दुई आयोजना : प्रादेशिक अस्पतालको रफ्तार दशैंमा पनि रोकिएन, बुटवल-गोरुसिङ्गे सडक विस्तार सुस्त

बुटवल : लुम्बिनी प्रदेश सरकारले गौरवको आयोजनाको रूपमा अगाडि बढाएको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवन निर्माणको काम चाडपर्वको बिदामा पनि धमाधम चलिरहेको छ।
अन्य विकास आयोजनाहरू चाडपर्वको समयमा कामदार नहुँदा ठप्प प्रायः हुँदा प्रादेशिक अस्पतालको अत्याधुनिक भवन निर्माणको काम भने धमाधम चलिरहेको हो।
पूर्वाधार प्राधिकरण कार्यालयका साइट इन्जिनियर शंकर सुवेदीले अहिले पनि निर्माण कम्पनीले कामलाई तीव्र बनाएको बताए। उनका अनुसार अत्याधुनिक अस्पताल निर्माणको काम २९ प्रतिशत भौतिक प्रगति भएको छ।
इन्जिनियर सुवेदीले अहिले मुख्य भवनको बेसमेन्टको काम सम्पन्न भई दोस्रो बेसमेन्टको ढलान सकेर दोस्रो तलाको काम सुरु भएको बताए। त्यस्तै, उनले क्यान्सर भवनको फाउन्डेसन पनि ढलान भइसकेको जानकारी दिए। उनका अनुसार अस्पताल निर्माणमा अहिलेको समयमा ३५ जना कामदारले निरन्तर काम गरिरहेका छन्।
‘काममा कुनै पनि अवरोध छैन। सामान्य अवस्थामा दैनिक २०० जनशक्तिले काम गर्दै आएकोमा चाडपर्वको समयमा पनि दैनिक ३५ जनाले काम गरिरहेका छन्’, उनले भने।
दशैंमा गएका कामदार केही पूर्णिमापछि आउने र अधिकांश छठ पर्व सकेर मात्र आउने भएकाले कामको गति छठपछि अझ तीव्र हुने उनले बताए।
प्राधिकरणले निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न लगातार सहजीकरण गर्दै आएको छ। लुम्बिबिनी प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको अस्पताल भवनका लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चर र नेपाली कम्पनी आशिष रेलिगेन जेभीसँग २०८० पुस २६ गते ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार २०८५ साल पुससम्म अस्पतालको भवन निर्माण सक्नुपर्ने छ।
पूर्वाधार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छविलाज पोखरेलले हालसम्मको प्रगति र कार्ययोजनालाई तुलना गर्दा आयोजनाको कार्ययोजनाअनुसार नै काम भइरहेको बताए। उनले कुनै प्राकृतिक विपत्ति वा आर्थिक संकट नभएमा आयोजनालाई सम्झौता भएको समय अगाडि नै सम्पन्न गर्ने गरी काम भइरहेको बताए।
विक्रम संवत् २०२३ फागुन १५ गते ६ शय्याबाट सुरु गरिएको यो अस्पतालको २०७३ सालमा निर्माण गरिएको भवन जीर्ण बनेपछि सोही भवन भत्काएर अत्याधुनिक सेवासुविधासहितको भवन निर्माण गर्न लागिएको हो। ५ वर्षभित्र भवन निर्माण गर्ने गरी ६ अर्ब १८ करोडमा सम्झौता भई अहिले काम धमाधम भइरहेको छ।
अस्पतालको नयाँ बन्ने भवनको डीपीआरअनुसार १२ तले अत्याधुनिक भवनमा बहिरङ्ग सेवा, आकस्मिक सेवा, इन्डोर सर्भिस कक्षसहित एक हजार २०० शय्या रहनेछन्। साथै, विशिष्टीकृत ग्यास्ट्रो, न्युरो, कार्डियोलोजी लगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट उपलब्ध हुनेछन्।
प्रदेश पूर्वाधार प्राधिकरणका अनुसार क्यान्सरको उपचारका लागि अन्डरग्राउन्डसहित पाँच तलाको अलग्गै भवन बन्नेछ। मुख्य भवनको माथि हेलिप्याड रहनेछ भने हेलिप्याडबाट सिधै इमर्जेन्सीमा आउजाउ गर्न मिल्ने व्यवस्थित लिफ्टसमेत बन्ने डीपीआरमा उल्लेख छ।
नयाँ भवन निर्माणपछि हाल उपचारका लागि प्रयोगमा रहेका तीनवटा नयाँ भवनमा डाइग्नोस्टिक एन्ड रिसर्च, प्रसूति र महिला तथा बालरोगको उपचारका लागि प्रयोग गरिने बताइएको छ।
एक सय १४ वर्ष पुरानो यो अस्पताल बुटवल उपमहानगरपालिका वडा नं. ९ स्थित बुटवलकै मध्यभाग सिद्धार्थ र महेन्द्र राजमार्गको पश्चिमतर्फ रहेको छ। कुल ६ बिघा १२ कट्ठा जग्गामा सञ्चालित अस्पतालमा नयाँ भवन निर्माणपछि अत्याधुनिक पूर्वाधारसहितको प्रदेशकै अब्बल अस्पताल बन्नेछ।
अस्पतालमा वार्षिक झन्डै ४ लाख बिरामीले सेवा लिने गरेको अस्पतालको तथ्यांक छ। हाल अस्पतालबाट क्याथ ल्याब सेवासहित मिर्गौलाको डायलाइसिस, प्लास्टिक सर्जरी, ग्यास्ट्रो मेडिसिन, न्युरो मेडिसिन, न्युरो सर्जरी, युरो सर्जरी, इन्टेरोस्कोप, सिसीयू, पीआईसीयू, एनआईसीयू, बर्थिङ सेन्टर, नेत्र रोग, हाडजोर्नी तथा नसा रोग, दन्त, नाक, कान घाँटी, आँखा, मनोरोग लगायतका विशिष्टीकृत सेवा सञ्चालन भइरहेको छ।
वि.सं. २०५० सालमा १०० शय्यामा विस्तार भएको अस्पतालमा वि.सं. २०७२ सालबाट सरकारबाट ३०० र विकास समितिबाट १०० शय्या गरी ४०० शय्यामा स्तरोन्नति भए पनि अहिले ५६४ शय्यामा बिरामीको उपचार हुने गरेको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले अस्पतालको निर्माण पूरा भएपछि सिङ्गो रुपन्देही स्वास्थ्यको हब बन्ने बताए। उनका अनुसार अहिले अस्पतालबाट वार्षिक साढे ३ लाख बढीले ओपीडीबाट सेवा लिँदै आएकोमा अस्पतालको नयाँ भवन निर्माणपश्चात् वार्षिक ५ लाख बढीले ओपीडीबाट सेवा लिने बताए।
बुटवल-गोरुसिङ्गे सडक विस्तार भने सुस्त
यता, दशैंको समयमा कामदार घर गएपछि बुटवल-गोरुसिङ्गे सडक खण्डको काममा केही विलम्ब भएको छ। सुरुवाती समयमा धमाधम काम भए पनि चाडपर्वको समयमा कामदार नहुँदा कामको गति कम भएको हो।
बुटवल-गोरुसिङ्गे सडक आयोजनाका प्रमुख इन्जिनियर कुशलता न्यौपानेले अहिलेसम्म १५ प्रतिशत काम भएको र चाडपर्व लागेसँगै कामले गति लिन नसकेको बताइन्। उनले चाडपर्व सकिएपछि भने कामले पुनः गति लिने बताइन्।
‘अहिले पुल, कल्भर्ट, अन्डरपास, नाली र वालहरूको निर्माणकार्य चलिरहेको छ। यी काम चाडपर्वपछि अझ तीव्र गतिमा हुनेछन्’, उनले भनिन्।
उनका अनुसार आयोजनाअन्तर्गत ३० वटा सडक पुल निर्माण गर्नुपर्नेमा अहिलेसम्म १५ वटा पुलको फाउन्डेसन निर्माण सकिएको छ। बाँकीको डाइभर्सनको काम भइरहेको छ।
त्यस्तै, सडक किनारमा फुटपाथ र सवारीसाधनका लागि सडक छुट्याउनका लागि राखिने कर्व स्टोन पनि ४७ हजार निर्माण भइसकेको छ।
त्यस्तै २१ किलोमिटर प्रिकास्ट ड्रेन यार्ड (नाली) निर्माण सकिएको उनको भनाइ छ। त्यस्तै १४० कल्भर्ट निर्माण र ६ वटा अन्डर पास निर्माण हुनेछन्। यो सडक सहरी क्षेत्रमा ५०, सहरोन्मुख क्षेत्रमा ३७ र जंगल क्षेत्रमा २४ मिटर चौडाइको बन्नेछ।
यो सडक खण्डलाई जंगली जनावरमैत्री समेत बनाइनेछ। हाल कुनै पनि देशका राजमार्ग जंगली जनावरमैत्री छैनन्। जंगली जनावरलाई आवतजावतमा सहजताका लागि एउटा ठूलो पुलसहित १९ वटा एनिमल अन्डरपास बनाइनेछ।
वन्यजन्तुका लागि कोठी नदीमा ४० मिटर लामो अन्डरपास पुल बन्ने छ। त्यसबाहेक सालझण्डी-झिङ्ग्रा खण्डमा ४ तथा कोइलीधुरे-वनगाई-गोरुसिङ्गे जंगल क्षेत्रमा १० वटा अन्डरपास बनाइने छ। बडहरा-बेलगुँडवा नदी क्षेत्रमा ५ वटा वन्यजन्तुमैत्री क्रसिङ बनाइने छ।
पहिलो र दोस्रो चरण गरी बुटवलदेखि गोरुसिङ्गे खण्डको रुपन्देहीमा ३० किलोमिटर र कपिलवस्तुमा २० किलोमिटर सडक विस्तार हुनेछ। दोस्रो चरणको ठेक्का प्रक्रिया भने भएको छैन।
चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवाले १३ अर्ब ५५ करोड ९० लाख ७६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरी गत असार १३ गते ठेक्का लगाइएको यो सडक ठेक्का लागेको मितिले ३ वर्षभित्र निर्माण सक्ने सम्झौता छ।
सडक विस्तारकै क्रममा सडक क्षेत्रमा पर्ने ७ हजार १ सय ७५ रुख काटिएका छन्। काटिएका रुखबापत अन्य स्थानमा रुख रोप्नका लागि सडक आयोजनाले ४ करोड ७१ लाख रुपैयाँ वन विभागलाई भुक्तानी समेत दिइसकेको छ।
असोज २१, २०८२ मंगलबार ०७:४९:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।