पहिरोले बेनी-जोमसोम सडकमा यात्रा जोखिमपूर्ण, यातायात सेवा पटक-पटक अवरुद्ध

म्याग्दी : म्याग्दीको रघुगङ्गा गाउँपालिका-२, सिरुवारीमा खसेको पहिरोले कालीगण्डकी कोरिडोरअन्तर्गतको बेनी-जोमसोम सडकखण्ड पटक-पटक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित बनेको छ। म्याग्दीको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने यो सडक चीन र भारत जोड्ने राष्ट्रिय गौरवको आयोजना पनि हो।
कालीगण्डकी नदीको सतहदेखि भगवतीको माझखर्कसम्मको जमिन धाँजा फाटेर खस्दा सडकमा यात्रा गर्न जोखिमपूर्ण बनेको छ। यातायात व्यवसायी भोजबहादुर थापाका अनुसार, सामान्य वर्षामा पनि पहिरो खस्ने र सडक हिलाम्मे हुँदा जोखिम मोलेर सवारी चलाउनुपर्ने बाध्यता छ।
‘सवारी गुडिरहेका बेला माथिबाट ढुंगा खस्ने भएकाले यात्रुहरू त्रसित हुन्छन्। हामीले उच्च सावधानी अपनाएर मात्र गाडी चलाएका छौँ’, थापाले भने।
पहिरोका कारण सडक साँघुरो भएकाले एकतर्फी मात्र सवारी सञ्चालन गर्न सकिन्छ, जसले गर्दा घण्टौसम्म जाम हुने गरेको रघुगङ्गा गाउँपालिका-१ का वडा सदस्य बलमान गौचनले बताए।
यस समस्यालाई मध्यनजर गर्दै बेनी-जोमसोम-कोरला सडक आयोजनाले पहिरोस्थल नजिकै डोजर र लोडर तयारी अवस्थामा राखेको छ। आयोजनाका इन्जिनियर विष्णु चापागाईंले बर्खाभरि पहिरो पन्छाउँदै यातायात सञ्चालन गरिएको बताए।
उनका अनुसार सिरुवारीको पहिरो ठूलो भएकाले यसको दीर्घकालीन रोकथामका लागि अध्ययन भइरहेको छ।
‘तत्कालका लागि पहिरो पन्छाएर यातायात सञ्चालन गरिरहेका छौँ,’ उनले भने, ‘वर्षा रोकिएपछि सडकलाई दुईतर्फी सञ्चालन गर्न सकिने गरी मर्मत गरिनेछ।’
साथै, सडकखण्डका अन्य जोखिमपूर्ण स्थानहरू जस्तै चमेरे, बैसरी र गुइठेभिरको पहिरो रोकथाम तथा रुप्से झरना क्षेत्रको सडक ढलानका लागि ठेक्का प्रक्रिया अघि बढेको पनि इन्जिनियर चापागाईंले जानकारी दिए।
असोज २१, २०८२ मंगलबार ०७:३४:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।