सरकारले मन्त्रिपरिषद् पुरा गर्न सकेको छैन, आयोगले सार्वजनिक गर्यो निर्वाचन कार्यतालिका

काठमाडौँ : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले कार्यतालिका स्वीकृत गरेको छ। आयोगको सोमबार बसेको बैठकले उक्त कार्यतालिका पारित गरेको हो।
अनुसार निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता मंसिर १ गतेदेखि १० गतेसम्म गरिनेछ। समानुपातिक प्रणालीका लागि मंसिर १५ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पुस १८ तथा १९ गते दलहरूले बन्दसूची पेश गर्न पाउने व्यवस्था गरिएको छ।
प्रत्यक्षतर्फको निर्वाचनका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ।प्रचारप्रसारको अवधि फागुन ३ देखि १८ गतेसम्म रहनेछ भने त्यसपछि प्रचार निषेध अवधि लागू हुनेछ।
मतदान फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ। मतदान सकिएपछि दुवै प्रणालीका मतपेटिका सङ्कलन गरी मतगणना सुरु गरिने आयोगले जनाएको छ।
निर्वाचनका तयारीका क्रममा राजनीतिक दल तथा सरोकारवालासँग नियमित परामर्श र छलफल गर्ने आयोगको योजना छ। साथै, मंसिर १ देखि १० गतेसम्मको अवधिमा मात्र आयोगमा दर्ता भएका दलहरूले निर्वाचन प्रयोजनका लागि पुनः दर्ता गर्न सक्ने कानुनी प्रावधान रहेको आयोगले स्मरण गराएको छ।
आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ- “निर्वाचनमा सहभागी हुन चाहने दलहरूले कात्तिक ३० गतेभित्र राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्नेछ।”
असोज २०, २०८२ सोमबार १९:३८:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।