सरकार निजी क्षेत्रको मनोबल बढाउन निरन्तर प्रयन्नशील छः अर्थमन्त्री खनाल

सरकार निजी क्षेत्रको मनोबल बढाउन निरन्तर प्रयन्नशील छः अर्थमन्त्री खनाल

काठमाडौं : अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रलाई सशक्त र आत्मविश्वासी बनाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताएका छन्।

आज सिंहदरबारमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालसँगको भेटमा अर्थमन्त्री खनालले उक्त भनाइ राखे।

उनले पुनर्निर्माणका लागि राजस्व छुट, बैंकिङ सहुलियत र बिमामा सहज पहुँच जस्ता कार्यक्रममार्फत निजी क्षेत्रलाई सघाउने नीति सरकारको प्राथमिकतामा रहेको स्पष्ट पारे।

भन्सार प्रणालीमा सुधारका लागि लागू गरिएको ‘अनलाइन डेटाबेस’ प्रणालीबारे जानकारी दिंदै अर्थमन्त्री खनालले सन्दर्भ मूल्य खारेजसँगै बजार कारोबारमा पारदर्शिता र निष्पक्ष प्रतिस्पर्धा बढ्ने विश्वास व्यक्त गरे।

“नयाँ प्रणालीले हरेक छ महिनामा अद्यावधिक हुने सन्दर्भ मूल्यका गुनासो सम्बोधन गर्न सहयोग पुर्याउनेछ,” उनले भने, “अब भन्सार पास भएका वस्तुको वास्तविक मूल्य विवरण डिजिटल रूपमा उपलब्ध हुनेछ, जसले मूल्य विश्लेषण र तुलना गर्न सजिलो बनाउनेछ ।”

निजी क्षेत्रका तिनै संस्थाका अध्यक्षहरूले सरकारको सुधार प्रयासको स्वागत गर्दै ‘अनलाइन डेटाबेस’ प्रणाली व्यवसायमैत्री भएको प्रतिक्रिया जनाएका छन् । उनीहरूले आफ्ना सदस्य र उद्यमी व्यवसायीलाई नयाँ प्रणालीको प्रयोगमा सक्रिय हुन आग्रह गरेका छन् ।

भेटका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले हालैको ‘जेनजी’ प्रदर्शनका क्रममा व्यापारीक प्रतिष्ठानमाथि भएको तोडफोड, लुटपाट र आगजनी घटनाको विरोध गर्दै दोषीमाथि कडा कारबाही गर्न माग गरेका थिए । “यदि कारबाही भएन भने निजी क्षेत्रको मनोबलमा गम्भीर असर पर्छ,” उनीहरूले जोड दिए ।

व्यवसायी नेताहरूले निजी क्षेत्र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता कायम गर्न प्रतिबद्ध रहेको बताउँदै, सरकारले पनि उद्यमी व्यवसायीका लागि सुरक्षीत र स्थिर वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

“वर्तमान सरकारको मुख्य लक्ष्य निर्वाचन भए पनि सुधारको जग बसाल्ने अवसर यही हो,” उनीहरूले भने, “लगानी र स्रोतसाधन आकर्षित गर्न निजी क्षेत्रको अगुवाइमा बहुपक्षीय वित्त सम्मेलन आयोजना गरी सबै सरोकारवालालाई आश्वस्त पार्नुपर्छ।”

त्यस्तै, उनीहरूले लोकतान्त्रिक अभ्यास र खुला बजार प्रणाली सुदृढ बनाउन समयमै निर्वाचन सम्पन्न गर्न निजी क्षेत्र तयार रहेको प्रतिबद्धता पनि व्यक्त गरे।

असोज २०, २०८२ सोमबार १८:४२:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।